काठमाडौँ, फागुन । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गैरआर्थिक भ्रष्टाचारजन्य कार्यको समेत प्रभावकारी रूपमा अनुसन्धान गरी त्यस्ता कार्यहरूलाई कारबाहीको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।
मंगलबार बसेको समिति बैठकमा अख्तियार प्रमुख प्रेम राई र आयोगका सचिवसँग छलफल पछि निर्देशन दिएको हो ।
बैठकले आर्थिक अनियमितता लगायतका भ्रष्टाचारको परिभाषाभित्र पर्ने, गैरआर्थिक भ्रष्टाचारजन्य कार्यमाथि प्रभावकारी अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन पनि भनेको छ ।
बैठकमा छलफलपछि कार्यसम्पादन गर्नसमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन गन भनिएको छ । समितिले अख्तियारलाई विभिन्न समयमा शीघ्र अनुसन्धान गरी निष्कर्षमा पुग्न र अभियोजन प्रक्रियामा लैजान दिएका निर्देशनहरूको कार्यान्वयनको अवस्था, कार्यप्रगतिका विषयमा आयोगका प्रमुख राईलाई सोधेको थियो ।
त्यस्तै, समितिले सरकारलाई पनि भ्रष्टाचार प्रकरणका अनुसन्धानका लागि विभिन्न मुलुकहरूसँग सूचना लिनुपर्ने भएकाले त्यसका लागि सम्झौता गर्न पनि निर्देशन दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य अनुसन्धान गर्ने सरकारी निकायहरूले कतिपय विषय र अवस्थाहरूमा बहुआयामिक अध्ययनरअनुसन्धान र अन्य सूचना आदानप्रदान गर्नुपर्ने हुन्छ ।
सो कार्यका लागि बहुपक्षीय, दुईपक्षीय सम्झौता आवश्यक हुन्छ,' बैठकपछि भनिएको छ, ' यस्ता सम्झौताहरू हुन नसकेको कारण अनुसन्धान प्रक्रिया प्रभावित हुन गएको देखिएकोले आवश्यकता अनुसार बहुपक्षीय र दुईपक्षीय सम्झौताहरू गर्न, संसद्बाट अनुमोदन गराउने कार्यलाई प्राथमिकता दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन गर्दछ ।