काठमाडौँ, फागुन । नेशनललाईफ इन्स्योरेन्स कम्पनी लि.३७ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३७औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको छ ।
जसमा ५० भन्दा बढी कम्पनीका कर्मचारीहरुको सहभागिता रहेको थियो । देशभरमा ५३ वटा बाल र बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको छ । अपाङ्गता संरक्षण नेपालको सहायतामा १२३ जना दृष्टिविहिन व्यक्तिहरुलाई सेतो छडि वितरण गरिएको छ ।
नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित यो कम्पनीले विगतवर्ष सरह चालु वर्षमा राम्रो ब्यवसायिक प्रगति गरेको छ । संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष २०७८÷०७९ को मुनाफावाट कम्पनीले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस शेयरमा कर प्रयोजनको लागि थप नगद लाभांश पारित गरी साधारण सभा सम्पन्न गरी सकेको छ ।
कम्पनीको जीवन बीमा कोषमा रु.७१ अरबको हाराहरीमा रकम जम्मा भएको छ । आर्थिक वर्ष २०७८÷०७९ बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना बीमितहरुलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको छ ।
आ.व.२०७८÷०७९को बीमाङ्कीय मूल्याङ्कन पश्चात बीमितलाई न्यूनतम प्रतिहजार ६३ रुपैयाँदेखि अधिकतम् प्रतिहजार ८५ रुपैयाँ सम्म प्रदान गरेको छ ।
कम्पनीको शाखा कार्यालय नेपालगंजमा आफ्नो भवन निर्माण भई सम्पन्न हुने अवस्थामा रहेको छ । ११७ शाखा कार्यालय संख्या र ५०० कर्मचारी संख्या रहेको यस कम्पनीमा १ लाखभन्दा बढी अभिकर्ता कार्यरत रहेका छन् ।
कम्पनीले स्थापना कालदेखि २०८० साल पौष मसान्तसम्म कूल बीमा शुल्क आम्दानी रु.१०२ अरब ३० करोड आर्जन गरेको छ भने कूल ४५ लाख ५६ हजार बीमालेख जारी गरेको छ र कूल रु.३७ अरब ४९ करोड बराबर बीमा दावी भुक्तानी गरेको छ ।
यस शुभ अवसरमा कम्पनीले ब्यवसायिकता, प्रविधि मैत्री पारदर्शीता एवं विश्वसनियतालाई थप अभ्यास गर्दै गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ ।
कम्पनी सञ्चालनको ३७ औं वार्षिकोत्सवको सुखद अवसरमा हामीप्र्रति विश्वासका साथ सहकार्य गर्नु हुने सम्पूर्ण ग्राहक महानुभावनहरु, कर्मचारी साथीहरु, अभिकर्ताज्यूहरु एवं शुभेच्छुकहरु प्रति हार्दिक आभार ब्यक्त गर्दछौं ।
साथै नियामक निकायलगायत अन्य सम्बन्धित संस्थाहरुवाट प्राप्त मार्गदर्शन र सहयोगको लागि कृतज्ञता ब्यक्त गरेको कम्पनीद्धारा प्रेषित बिज्ञप्तिमा जनाइएको छ ।