काठमाडौँ, भदौ । भ्रष्टाचारको अभियोग लागेका व्यक्तिको बयान लिने वा नलिने भन्ने गठबन्धन बैठकको छलफलको बिषय नभएको र निर्णय गर्न पनि नमिल्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् ।
उनले भने, ललिता निवास प्रकरणमा दुई पूर्वप्रधानमन्त्रीहरूको बयान नलिने भन्ने गठबन्धनको निर्णय भएको भनेर समाचार आयो, त्यस्तो निर्णय गठबन्धनले गर्न नमिल्ने पनि उनले बताएका छन ।
महामन्त्री थापाले आइतबार झापाको शिवसताक्षी नगरपालिकामा कांग्रेसको नगर सम्मेलनलाई सम्बोधन गर्दैभने, ‘अहिले ललिता निवास प्रकरणमा छानबिन चलिरहेको छ ।
मैले पनि समाचार पढेर थाहा पाइरहेको छु । गठबन्धनका नेताहरू बसेर दुई जना पूर्वप्रधानमन्त्रीहरूको बयान नलिने भन्ने निर्णय गर्नुभयो भनेर । तर गठबन्धनले त्यसरी निर्णय गर्न मिल्दैन, त्यो मान्य हुँदैन ।
गठबन्धनको बैठकमा के के हुन्छ ? सबै जनताले थाहा पाउनुपर्छ । अब कांग्रेसको बैठक होइन, गठबन्धनको बैठकको लाइभ हुनुपर्छ ।’ उनले भ्रष्टाचारका फाइल खोल्ने विषयमा शीर्ष नेताहरू एक मुख हुने कुरा रहस्यमय रहेको बताए ।
‘कुनै एउटा प्रकरण आउँछ, तीन नेताको बैठक बस्छ, भित्र जानुभन्दा पहिले एउटा बोली हुन्छ, बाहिर आउँदा बोली फेरिसकेको हुन्छ,’ उनले भने, ‘म त भनिरहेको छु, गठबन्धनको मात्रै होइन, शीर्ष तीन नेताहरूको पटक–पटक बसिरहेको बैठकको पनि लाइभ हुनुपर्छ ।’
महामन्त्री थापाले यो वा त्यो नभनिकन भ्रष्टाचारका सबै काण्डहरूको फाइल खोल्नुपर्ने बताए । ‘एउटाले भन्छ, म सुन काण्डको भ्रष्टाचारको छानबिन गराउँछु ।
अर्कोले भन्छ, ठूलो कुरा गर्छस्, गिरिबन्धु टी–स्टेटको फाइल खोल्दिऊ ? अर्कोले भन्छ, गिरिबन्धुको खोल्ने हो भने म तेरो शिविरको खोलिदिन्छु ।
अर्कोले भन्छ, त्यसो भए हामी मिलौँ, कुनै पनि फाइल नखोलौँ,’ महामन्त्री थापाले अघि भने, ‘अहिलेसम्म यसैगरी मिलेमतोमा चलिरहेको छ । तर यसमा अबको कांग्रेसको कुरा प्रस्ट छ, चाहे त्यो यति ओम्नीको फाइल होस्, चाहे त्यो गिरिबन्धुको फाइल होस् ।
चाहे त्यो ललिता निवासको होस्, चाहे त्यो सुन काण्डको होस्, चाहे त्यो शिविर घोटालाकै किन नहोस्, वा जुनसुकै काण्डको होस् । सबै काण्डको फाइल खोलिनुपर्छ ।
निर्दोष एक जना पनि पर्नुहुन्न, दोषी जोसुकै होस्, हाम्रो पार्टीको होस् कि अर्को पार्टीको होस्, पूर्वप्रधानमन्त्री होस् कि जो सुकै ठूलो नेता होस्, जो सुकै होस् एक जनाले पनि उन्मुक्ति पाउनुहुन्न ।’
उनले सुशासनको कुरा गर्ने सरकारले भ्रष्टाचारको छानबिन गरिरहेका प्रहरी अधिकारीहरूको सरुवा गर्न लागेको खबरले आफू चकित परेको बताए ।
‘आज सरकारले सुशासनको काम गर्यो भनेर प्रशंसा पाइरहेको छ । तर पछिल्लो समय प्रहरीमा सरुवा गर्न थालिरहेको कुरा आइरहेको छ, कांग्रेस यस्तो कुरामा सामेल छैन, हुँदैन ।
यदि कांग्रेसको कोही व्यक्ति त्यो कुरामा सामेल हुन्छ भने त्यो त्यही व्यक्तिको कुरा हो, कांग्रेसको होइन,’ उनले भने, ‘कांग्रेसले अब कोही एउटा नेताले, व्यक्तिले गरेको गल्तीको भारी बोक्दैन ।’