काठमाडौँ, साउन । सुन तस्करी प्रकरणमा अन्तरदेशीय सञ्जालको विषयमा अनुसन्धान गर्न इन्टरपोललाई अनुरोध गरिएको प्रधानमन्त्री पुष्पकमल दाहालले जानकारी दिएका छन ।
प्रधानमन्त्री दाहालले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, 'पछिल्लो सुन तस्करी घटनामा विदेशी नागरिकको संलग्नता र त्यसको अन्तरदेशीय सञ्जाल देखिएकाले अनुसन्धानमा सहयोग गर्न इन्टरपोललाई आग्रह गरेका हौँ ।'
दाहालले भने, ' मुलुकका नागरिकहरुको संलग्नता देखिएको छ । ती देशहरुसँग पनि समन्वय भइरहेको छ', 'यसमा अन्तर्राष्ट्रिय सञ्जाल नै सक्रिय रहेको पाइएकाले त्यसको अनुसन्धानका लागि सहयोग गर्न इन्टरपोललाई अनुरोध गरेका हौँ ।'
साउन २ गते भन्सार हुँदै बाहिरिएको ६० केजी सुन बरामद भएपछि उक्त घटनाले राजनीतिक वृत्तलाई नै तरंगित बनाएको छ ।
विपक्षी दल नेकपा एमालेले उच्च सरकारी संलग्नता बिना यति ठूलो परिणाममा तस्करी हुन नसक्ने भन्दै न्यायिक छानबिनको माग गरेको छ ।
एमालेले पछिल्लो समयमा बरामद गरिएको अवैध सुन भित्र्याउने कम्पनीले यसअघि ३२ पटक सामग्री नेपाल भित्र्याएको जनाएको छ ।
विपक्षी दलले छानबिन समितिको माग गरे पनि सरकारले भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गर्ने जनाउँदै आएको छ ।