काठमाडौँ, साउन । प्रधानमन्त्रीको पद तथा हैसियतमा रहेर दिनै नमिल्ने अभिव्यक्ति प्रधानमन्त्री पुष्पकमल दाहाल दिएर हिँडिरहेको नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बताएका छन । उनले भने, गठबन्धन सरकार भएकाले प्रधानमन्त्री र मन्त्रीहरूलाई कांग्रेसले सजग गराउनुपर्छ ।
नयाँ बानेश्वरस्थित ल्होत्से हलमा जारी पार्टीको संसदीय दलको बैठकमा बोल्दै नेता कोइरालाले भने., 'आदिवासी दिवसको सन्दर्भमा भएका कार्यक्रमहरुमा प्रधानमन्त्रीले आफ्नो पार्टीलाई भोट दिए जातीय राज्य दिने भनेर उत्तेजित अभिव्यक्ति दिएका छन ।'
आदिवासी दिवसको सन्दर्भमा प्रचण्डजीले माओवादीलाई भोट दिनुस्, जिताउनुस्, जातीय राज्य हामी दिन्छौं भनेको प्रसंग पनि उठाए ।
उनको भनाई थियो, 'पार्टी अध्यक्षका विषयमा त्यो भनेर हिँड्न सक्नुहोला, त्यो उनको पार्टीको कुरा हुन सक्ला,’ नेता कोइरालाले भने, ‘तर उनले अहिले आफू गठबन्धन सरकारको प्रधानमन्त्री भएको कुरा पनि भुल्नुहुँदैन ।'
'देशको प्रधानमन्त्रीको हैसियतले त्यसरी बोल्न मिल्दैन । यो विषय आपत्तिजनक छ, यो विषयमा कांग्रेसले खेद प्रकट गर्नुपर्छ ।’
नेता कोइरालाले सरकारले गरेका गलत कामको अपजसको भारी कांग्रेसले बोक्न नसक्ने बताए । उनले प्रधानमन्त्री र मन्त्रीहरूले गलत काम गर्दै गर्दा सरकारमा कांग्रेसका तर्फबाट रहेका मन्त्रीहरूले अब्जेक्सन गर्न सक्नुपर्ने बताए ।
उनले सरकारले ल्यारक्याल लामा जस्ता व्यक्तिलाई नियुक्ति दिएको विषयले कांग्रेसको पनि छवि बिग्रिरहेको बताए ।म हाम्रो दलबाट सरकारमा जानुभएका मन्त्रीहरुको कार्यकालको कुरा गर्न चाहदिनँ । अहिले नै धेरै केही भइहाल्ने कुरा छैन ।
तर मन्त्रीहरुले एउटा कुरा चाहिँ ख्याल गरिदिनुहोला कि अब सरकारले गरेका गलत कामको अप्जसको भारी हामीले लिने कुरा हुँदैन,’ उनले अघि भने, ‘तपाईंहरूले ल्यारक्याल लामा जस्ता व्यक्तिलाई नियुक्ति गर्दा अब्जेक्सन गर्नुपर्थ्यो, तपाईंहरूले नबोल्दा पार्टीको छवि बिग्रिरहेको छ ।’