काठमाडौँ, साउन । नेपाली कांग्रेस केन्द्रिय समिति बैठकले तय गरेको संगठन सुदृढीकरण अभियान आजदेखि सुरु हुँदैछ । अभियानका लागि केन्द्रीय नेताहरु जिल्ला-जिल्ला पुगेका छन् ।
आज, शनिबार, देखि सुरु हुने अभियान १० दिनसम्म चल्नेछ । केन्द्रीय कार्यसमिति बैठकको निर्णय बमोजिम ७७ वटै जिल्लामा केन्द्रीय सदस्यहरुलाई प्रतिनिधिका रुपमा खटाइएको छ ।
यसैबीच, नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले सो अभियानमा सहभागी हुन दलका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।
दलका अध्यक्ष विद्धान गुरुङले एक विज्ञप्ति जारी गरी आजदेखि साउन ३० गतेसम्म हुन लागेको पार्टीको सङ्गठन शुद्धीकरण अभियानमा सहभागी भएर कांग्रेस र लोकतन्त्रलाई बलियो बनाउने अभियानमा सहभागी हुन निर्देशन दिए ।
“कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार आजदेखि १० दिनसम्म ७७ वटै जिल्लामा हुन लागेको शुद्धीकरण अभियानमा खटिनुभएका पार्टीका केन्द्रीय प्रतिनिधि, जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्यसँग समन्वय गरी अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरिन्छ”, अध्यक्ष गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले शनिबारदेखि १६५ वटै निर्वाचन क्षेत्रमा संगठन सुदृढीकरण अभियान प्रारम्भ हुने सञ्चारकर्मीलाई जानकारी दिउका छन । यो हाम्रो पार्टीको संगठन सुदृढीकरणको अभियान मात्रै होइन, पोलिटिकल अडिट पनि हो, उनले भने ।
अभियानको प्रारम्भको सन्दर्भमा शनिबार देशभरि क्षेत्रीय कार्यसमितिहरुले बैठक, भेला र छलफल कार्यक्रमहरु आयोजना गरेका छन् । 'कांग्रेसको संगठनलाई मजबुत बनाउन हामीले केन्द्रीय कार्यसमितिबाट एक वर्षे कार्ययोजना नै पारित गरेका छौं ।'
त्यही अनुसार यो दश दिने संगठन सुदृढीकरण अभियान सुरु भएको छ,' प्रचार विभाग प्रमुख विश्वकर्माले भने, 'यो अभियानमा कांग्रेसको सांगठनिक जीवन कसरी चलिरहेको छ ? भनेर जानकारी लिने र कमजोरीहरु औंल्याउने काम हुन्छ ।
यसकारण पनि यो हाम्रो 'पोलिटिकल अडिट' हो ।'अभियानका लागि कतिपय जिल्लामा केन्द्रीय नेताहरु पुगिसकेका छन् भने कतिपय जिल्लामा नेताहरु पुग्नेक्रम छ ।
संगठन सुदृढीकरणका लागि आन्तरिक रुपमा यो दश दिने अभियानपछि भदौ १० देखि २४ गतेसम्म समुदायमा कांग्रेस राष्ट्रव्यापी अभियान सञ्चालन हुने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।