२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल 

अन्तर्राष्ट्रिय उडान आजदेखि : "  व्यवसायी भन्छन् : नियमित होस् "

चीनको दाबी : ' पोखरा बिमानस्थल  बिआरआइ  कार्यक्रम अन्तर्गत निर्माण '

बुधवार , आषाढ ६, २०८०


पोखरा, असार । पोखरेलीहरुको चारदशक अघिदेखिको सपना हो, अन्तर्राष्ट्रिय विमानस्थल । विमानस्थलको अवधारणा, जग्गा अधिग्रहणदेखि निर्माण सम्पन्न हुन ४० वर्ष लाग्यो ।

विसं २०७४ देखि निर्माण सुरु भइ रु २२ अर्ब लगानीमा निर्माण भएको विमानस्थल गत पुस १७ गते धुमधामसँग उद्घाटन पनि भयो । यो खुसीलाई साट्न पोखरेलीहरु विमानस्थलमा खचाखच भरिए । उनीहरुले मन फुकाएर स्वागत पनि गरे ।

तर विमानस्थल उद्घाटन भए पनि अन्तर्राष्ट्रिय उडानका लागि भने अर्को करिब ६ महिना कुर्नुपर्‍यो । उद्घाटनयता आन्तरिक उडान मात्रै भइरहेको विमानस्थलमा बुधबार विहान पहिलो अन्तर्राष्ट्रिय उडान भयो । उद्घाटनमा जस्तै पोखरेलीले खुला हृदयले स्वागत गरे । 

चीनको छेन्दुबाट आएको सिचुआन एयरलाइन्स आज विहान ९ः०६ बजे अवतरण हुँदा ‘वाटर क्यानन सल्युट’ले स्वागत गरियो । पहिलो अन्तर्राष्ट्रिय उडानका रुपमा ८४ जना यात्रु बोकेर आएको १३१ सिट क्षमताको चिनियाँ सिचुआन एयरलाइन्सलाई स्वागत गर्न पोखरेलीहरु बाजागाजासहित विमानस्थल पुगेका थिए । विमानका यात्रुहरुलाई पर्यटन व्यवसायीले माला र खादाले स्वागत गरे । उनीहरुलाई नेपाली ढाका टोपी लगाएर आतिथ्यता दर्शाए ।

यद्यपि पोखरेली र यहाँका पर्यटन व्यवसायी अझै पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन्छ भन्नेमा ढुक्क हुन नसकेपछि आशा भने पलाएको छ । उनीहरुले ढिलै भए पनि चार्टर्ड उडान हुुनुलाई सकारात्मक सुरुवातका रुपमा । यसले छिमेकी देशमा नियमित अन्तर्राष्ट्रिय उडानको ढोका खुल्नेमा उनको विश्वास छ ।

पहिलो चार्टर्ड उडान सुरु भएको अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विमानस्थल निर्माणमा चीन सरकारले खेलेको भूमिकाको उच्च सम्मान गर्दै विमानस्थल निर्माणदेखि अहोरात्र खटिनेप्रति धन्यवाद व्यक्त गरे। “पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलमा आज अन्तर्राष्ट्रिय विमान अवतरण हुनुु समग्र गण्डकी प्रदेशको पर्यटन विकासका लागि राम्रो सुरुवात हो”, उनले भने । 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पहिलो अन्तर्राष्ट्रिय चार्टर्ड उडानपछि आगामी दिनमा यसलाई नियमित गर्नेतर्फ सम्बद्ध सरकारी निकाय लाग्न सुझाव दिए। उनले चिनियाँ शहर तथा प्रान्तबाट सिधा उडानका लागि हालै गरिएको संसदीय प्रतिनिधिमण्डलको भ्रमणमा सम्बद्ध अधिकारीसँग छलफल भएको बताए ।  

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल र चीनबीचको सम्बन्ध युगौंँदेखि रहँदै आएको उल्लेख गर्दै सगरमाथालाई शान्ति र मित्रताको प्रतिकका रुपमा लिने गरिएको बताए ।  

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको बताउँदै अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गराइएको बताए । उनले थपे, पोखरा बिमानस्थल चीनको  बिआरआइ  कार्यक्रम अन्तर्गत निर्माण भएको दाबी गरे । 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र चीनबीचको पुरानो सम्बन्धलाई अझै मजबुद बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउँदै गण्डकी प्रदेशमा रहेको कोरला नाकालाई सहज बनाउँदै व्यापारिकसम्बन्ध बढाउन चाहेको बताए । 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले पोखराको पर्यटकीय गतिविधि बढाउनका लागि यहाँ अन्तर्राष्ट्रिय उडान हुनु आवश्यक भएको बताए । 

पोखरा विमानस्थल सञ्चालनको लामो समयसम्म अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन बोर्ड तथा पर्यटन मन्त्रालय दबाबमा परेको उनको भनाइ थियो । उनले अन्तर्राष्ट्रिय चार्टर्ड उडानले आगामी दिनमा अन्तर्राष्ट्रिय उडान नियमित गर्न बल पुग्ने धारणा राख्नुभयो । रेग्मीले भने, “यहाँबाट नियमित रुपमा भारत तथा चीनका विभिन्न शहरमा उडानका लागि आजको उडानले सहयोग पुग्नेछ ।”

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अन्तर्राष्ट्रिय उडानका माध्यमबाट आफूहरूले पोखरालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न चाहेको बताए । 


(((

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार