२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस 

महामन्त्री थापाले भने : " सभापति एक्लैका गल्ती सहेर बस्दैनौँ "

'हामी साना साना कुरामा लोभियौ, देउवाको मोह प्रधानमन्त्री हुन्छुकी भन्नेमा मात्रै देखियो' 

शुक्रवार , जेठ १९, २०८०


काठमाडौँ, जेठ । कांग्रेस सभापति शेरबहादुर देउवासहित नेतृत्वमा रहेका केही व्यक्तिले मुलुक र पार्टी हितविपरीत गरेको गल्ती आफूहरुले सहेर बस्न नसक्ने महामन्त्री गगन थापाले बताएका छन । महत्त्वपूर्ण निर्णय गर्दा पनि सभापतिले महामन्त्रीहरुसँग छलफल नगरेको र केन्द्रीय समितिको बैठक पनि महिनौंसम्म नबोलाएकोमा असन्तुष्टि ब्यक्त गरे । 

महामन्त्री थापाले भने,  नेतृत्वले गरेको गल्तीको भारी अब आफूहरूले बोक्न सक्दैनाैँ ।  कांग्रेस सुभेच्छुक संस्था प्रेस युनियन उपत्यका तथा प्रतिष्ठानको पहिलो अधिवेशनको शुक्रबार उद्घाटन गर्दै महामन्त्री थापाले थपे, गणेशमान र बीपी कोइरालाले बनाएको पार्टीलाई बदलेर छाड्छौँ । 

कांग्रेस कसैको प्राइभेट कम्पनी नभएको भन्दै उनले भने, ‘कांग्रेस बदल्ने गुटलाई बलियो बनाउँदै जाऔं, नबदल्ने गुटलाई कमजोर बनाउँदै जाऔं । कुनै विषयको निर्णय गर्दा आम जनताले के भन्छन् भन्ने सोच्नुपर्नेमा पार्टीले गर्ने अहिलेको निर्णय प्रधानमन्त्री हुन्छु कि हुन्न भन्नेमा केन्द्रित छ । हामी सानासाना कुरामा लोभिएका छौं ।’

कांग्रेस सहभागी भएको सरकारले केही दिनअघि गम्भीर, महत्त्वपूर्ण दीर्घकालीन महत्व र जनचासोका विषयमा निर्णय गर्दा पनि पार्टीमा छलफल नभएको भन्दै महामन्त्री थापाले आक्रोश पोखेका थिए ।

रेशम चौधरीलाई दिएको आममाफी, नागरिकता प्रमाणीकरण, प्रदेश सरकारमा कांग्रेसको सहभागिता, प्रदेश मन्त्रालय फुटाउने, सांसद विकास कोषलगायतका कयौं विषयहरुमा उनले असन्तुष्टि जनाएका हुन् ।

ती सबै निर्णय पार्टी सभापति शेरबहादुर देउवाले एक्लै गरेको भन्दै महामन्त्री थापाले यस्ता सूचना आफूले सञ्चारकर्मीका समाचार सुनेर थाहा पाएको बताए ।

‘यस्तो परिपाटी डेढ वर्षदेखि चल्दै आएको छ । आजको दिनसम्म चल्यो । मैले यसलाई सहँदै आएँ । सभापति हो उहाँले कुनै न कुनै दिन गर्नुहुन्छ भन्ने लाग्यो । पार्टी सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरे विभाग बन्छ नत्र बन्दैन ।

अस्ति उहाँलाई विभाग गठन गर्न मन लाग्यो गर्दिनुभयो । अहिले उहाँलाई गर्न मन लागेको छैन गर्नुभएन । कलम खल्तीमा राख्नुभएको छ निकालेर हस्तक्षर गरे विभाग बन्छ, नत्र बन्दैन,’ उनले भने । पार्टीमा गलत भएको कुरा बोल्न डराउने गरेको भन्दै उनले अब आफूले यस्ता कुरा नसहने बताएका थिए ।

पार्टीको आधारभूत मान्यतासँग बाझिने गरेर गरेका निर्णय पार्टीका सबै सदस्यले बोक्नुपर्ने अवस्था आएको भन्दै उनले यसलाई रोक्नुपर्ने बताए । र यसरी नेतृत्वले गरेको गलत निर्णयको भारी बोकिनै रहने हो भने थेग्न नसकिने उनको भनाइ थियो ।

'पार्टीभन्दा गुट बलियो भएर गुट विस्तारै गिरोहमा बदलिनेछ । उम्मेदवार गुटले छान्नेछ । पार्टीभन्दा गुट ठूलो हुने प्रवृत्ति बढेको छ । निर्वाचनको टिकट बाँड्दा दाइ भए भाउजु छान्छ, बुबा भए छोरा छान्छ । दिदी भए भिनाजु छान्छ । आमा भए छोरी छान्छ ।’

यस्तो अवस्था आउनुमा कुनै व्यक्तिको भन्दा पनि पद्धति नै यस्तै बनाएको उनले बताए । ‘कांग्रेस अहिले भोट पाएको तर विश्वास गुमाएको अवस्थामा रहेको छ । विश्वास स्थापना गर्नु अहिलेको चुनौती हो,’ थापाले भने ।

तर कांग्रेसलाई अहिलेकै अवस्थामा राखेर विश्वास स्थापना गर्न नसकिने उनको गुनासो थियो । यसैबीच उनले नेपालको राजनीतिक डरलाग्दो पाराले लोक रिज्याइँको बाटोमा उद्धत हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार