काठमाडौँ, चैत । सत्ता गठबन्धनले सरकार सञ्चालनका लागि बनाएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति निर्वाचनसँगै सरकार सञ्चालनका लागि बनेको कांग्रेस–माओवादी केन्द्र नेतृत्वको १० दलीय गठबन्धनले संयुक्त सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तय गरी सार्वजनिक गरेका हुन् ।
बिहीबार सिंहदरबारमा आयोजित एक समारोहमा मस्यौदा समितिका तर्फबाट पूर्वमन्त्री एवम् जसपाका सांसद राजेन्द्रप्रसाद श्रेष्ठले गठबन्धनबाट पारित भएको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका हुन् ।
प्रधानमन्त्री दाहालका तर्फबाट न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सञ्चारमन्त्री रेखा शर्माले संविधानको रक्षा, आवश्यकताअनुसार परिमार्जन, विकास, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संघीयताको कार्यान्वयन गर्नेमा गठबन्धन सरकार प्रतिबद्ध रहेको बताइन् ।
उनले गठबन्धन सरकारले देशको अर्थतन्त्र रुपान्तरण र सुदृढ गर्न नीतिगत र कार्यगत सुधार गर्ने प्रण गरेको बताइन् । त्यस्तै, समाजमा रहेका सबै प्रकारका भेदभावको अन्त्य गर्दै समता र सामाजिक न्यायमा आधारित सामाजिक व्यवस्था निर्माण गर्ने कार्य समेत संयुक्त गठबन्धन सरकारको प्राथमिकतामा रहेको बताइन् ।
हाल गठबन्धनमा रहेका १० दलमध्ये कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टी सरकारमा सामेल छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र आम नेपाली पार्टीले सरकारमा सामेल नभए पनि विश्वासको मत दिएर समर्थन कायम राखेका छन् ।
राष्ट्रपति निर्वाचनअधि एमालेसहित सात दलको गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले २५ पुसमा पनि न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका थिए ।
तर, त्यसबेला उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकको रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैं सरकारको नेतृत्वमा रहे जसरी प्रस्तुत भएको भन्दै आलोचना भएको थियो ।