२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कांग्रेस बैठक निर्देशन

वैशाख १० मा उपनिर्वाचन : " उम्मेदवारको नाम सिफारिस प्रक्रिया थाल "

उम्मेदवार चयन प्रक्रिया थाल्यो कांग्रेसले

बुधवार , चैत्र १, २०७९

काठमाडौँ, चैत । नेपाली कांग्रेसले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने प्रक्रिया थालेको छ ।बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चितवन–२ लगायत ठाउँमा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयनको प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

बैठकले पार्टी विधानको धारा ३२ (८) (क), (ख) र (ग) बमोजिमको प्रक्रिया पुर्‍याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि निर्देशन दिने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

‘आगामी वैशाख १० गते चितवन–२ मा उपनिर्वाचन हुँदैछ । त्यसका लागि उम्मेदवार चयनको प्रक्रिया अघि बढाउन तल्ला समितिलाई निर्देशन दिने निर्णय भएको छ,’ उनले भने, ‘केन्द्रीय कार्यालयले उपयुक्त समयमा सम्बन्धित निकायलाई पत्राचार गर्छ ।’

चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा अदालतको फैसलाबाट पद खारेज भएपछि आयोगले वैशाख १० गते सो क्षेत्रमा उपनिर्वाचनको मिति तोकेको छ । लामिछानेले कांग्रेस नेता उमेश श्रेष्ठलाई पराजित गरेका थिए ।

तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र पनि रिक्त बनेको छ । तर, त्यहाँ उपनिर्वाचन कहिले हुने भन्ने निश्चित भइसकेको छैन ।

कांग्रेसको विधानबमोजिम प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिको संयुक्त बैठकले योग्यता पुगेको व्यक्तिमध्येबाट प्रत्यक्षतर्फका लागि बढीमा तीन जनाको नाम पूर्ण सहमति नभए बहुमतबाट छनौट गरी सिफारिस गरी जिल्ला कार्यसमितिमा पठाउनुपर्ने व्यवस्था छ ।

जिल्ला कार्यसमितिले प्राप्त सिफारिसमा आफ्नो रायसमेत उल्लेख गरी प्रदेश कार्यसमितिमा पठाउने र प्रदेश कार्यसमितिले प्राप्त नाममा राय राखेर केन्द्रीय संसदीय समितिमा सिफारिस गरी पठाउने व्यवस्था छ । त्यसपछि केन्द्रीय संसदीय समितिले उम्मेदवार चयन गर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार