काठमाडौँ, फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एक दिवसीय मान्यता जोगिएपछि आगामी दिनमा बलियो टोलीसँग थप क्रिकेट खेल्ने मौका पाउने भन्दै खुसी व्यक्त गरेका छन् ।
आइतबार कीर्तिपुर खेल मैदानमा यूएईविरुद्ध १७७ रनको फराकिलो जित निकालेपछि पत्रकार सम्मेलनमा कप्तान रोहितले एक दिवसीय मान्यतपछि नेपालले बलियो टोलीसँग खेल्न पाउने र थप अनुभव बटुल्ने मौका मिल्ने बताए ।
उनले विश्वकप छनोट पुग्नका लागि थप दुई खेलमा सुखद् नतिजा निकै महत्वपूर्ण रहेको भन्दै ती खेलमा पनि केन्द्रित हुने प्रतिक्रिया दिएका थिए । टोलीमा नयाँ प्रशिक्षक मोन्टी देशाई आएसँगै खेलाडीलाई खुलेर खेल्ने अवसर भएको पनि उनको प्रतिक्रिया थियो ।
सोही अनुसार सबै खेलाडीले मिहिनेतका साथ खेल्दा सफलता मिलेको कप्तान रोहितले बताए । एक दिवसीय मान्यता कायम भएसँगै नेपाली क्रिकेट थप व्यस्त हुने र धेरैभन्दा धेरै खेलाडीले मौका पाउने बताए ।
यसैबीच नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले नेपाल क्रिकेट संघसँग जोडिएको दिनदेखि टोली बनाउन लागेको र अहिलेसम्मको यात्रा सुखद् भएकोमा खुसी व्यक्त गरेका छन् । आफ्नो रणनीति हरेक खेलमा सफल हुने गरेको र खेलाडीलाई दिइएको भूमिका उनीहरूले राम्रोसँग निभाएको बताए ।
खेलअघि केही कठिन निर्णयहरु गर्नुपरेको र रणनीति बनाउँदा आफू सफल भएकोमा उनले खुसी व्यक्त गरेका थिए । खेलमा सर्वाधिक ५ विकेट निकालेका स्पिनर ललितनारायण राजवंशीले भने जितको हिस्सेदार बन्दा खुसी लागेको प्रतिक्रिया दिए । उनले आफू टिम बाहिर रहे पनि टोलीको जितमा निकै खुसी भएको र टिममा पर्नैपर्ने आकंक्षा आफूमा नरहेको बताए ।