२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

क्रिकेट विश्वकप लिग - २

नेपालको जित : 'एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायमको नजिक'

पपुवा न्यु गिनीलाई ४७.१ ओभरमा २४५ अलआउट गर्‍यो

बिहिवार , फाल्गुण २५, २०७९


काठमाडौँ, फागुन  ।  आसिफ शेखको शतकमा नेपालले क्रिकेट विश्वकप लिग २ मा पपुवा न्यु गिनीलाई ५२ रनले पराजित गरेको छ । २९८ रनको लक्ष्य लिएर आएको पपुवा न्यु गिनीलाई नेपालले ४७.१ ओभरमा २४५ अलआउट गर्‍यो ।

यस विजयसँगैं नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायमको नजिक पुगेको छ । नेपालले ३३ खेलमा ३४ अंक बटुली पाँचौं स्थानमा छ । नेपालले बाँकी रहेको तीन खेलमा १ मा विजय हात पारेमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई कायम राख्ने छ ।

सबै ३६ खेल खेलेको स्कटल्यान्ड ५०, ओमान ४४, नामिबिया ३९ र अमेरिका ३५ अंकसहित पहिलो चार स्थानमा छन् । सात राष्ट्र सहभागि लिग २ को शीर्ष तीन टोलीले सिधै विश्वकप छनोटमा स्थान पाउने छ भने शीर्ष ५ टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्ने छ ।

यूएई ३२ खेलमा ३१ अंकसहित छैटौ स्थानमा छ । पपुवा न्यु गिनी ३३ खेलमा ९ अंकका साथ पुछारमा छ । नेपालले आइतबार यूएई, सोमबार पपुवा न्यु गिनी र यूएईसँग बिहीबार खेल्दै छ ।

टोनी उरा र किप्लिन डोरिगाले ११ ओभर भित्र ७६ रन जोडि पपुवा न्यु गिनीलाई सानदार सुरुआत दिलाएका थिए । डोरिगालाई दीपेन्द्रसिंह ऐरीले सानदार रनआउट गरी नेपालले पहिलो सफलता दिलाए । डोरिगाले ३४ बल खेली ३ चौका र १ छक्का प्रहार गरि २६ रन बनाए ।

दीपेन्द्रले नै सेसे बाउलाई ३ रनमा आउट गरे । ओपनर टोनी उराले ४४ बल खेल्दै ९ चौका प्रहार गरि ५० रन बनाए । चार्ल्स अमिनी १४, हिरी हिरी ८, चाड सोपर शुन्य, रिले हिकुरे २० र एलेइ नेओ २ रनमा आउट भए ।

नोर्मन भानुआ आउट हुने अन्तिम खेलाडी थिए । उनले ५५ बल खेली ३ चौका र ४ छक्का प्रहार गरी ६० रन बनाए । नेपालबाट सन्दीप लामिछानेले ४ र दीपेन्द्रले २ विकेट लिए ।

सन्दीपले १० ओभरमा १ मेडन राख्दै ३७ र दीपेन्द्रले ९.१ ओभरमा ३६ रन खर्चे । कुशल मल्लले १ विकेट लिनेक्रममा १० ओभरमा ६० रन खर्चे । पपुवा न्यु गिनीका ३ खेलाडी रनआउट भए ।

यसअघि आसिफले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाए पछि टस हारेर ब्याटिङमा आएको नेपालले ४९.१ ओभरमा २९७ रनमा अलआउट भएको थियो ।

आसिफले ११० रन बनाएपछि नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो उच्च स्कोर बनाएको थियो । तीन साता अघि नामिबियाविरुद्ध लिग २ कै खेलमा नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २८७ रन बनाउदै विजय लक्ष्य पुरा गरेको थियो, जुन यसअघि एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको उच्च स्कोर थियो ।

१ सय १ बलमा शतक पुरा गरेका आसिफले कुल ११० बल खेली १२ चौका र १० छक्का प्रहार गरे । आसिफ नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने पाँचौं खेलाडी हुन् । 

यसअघि नेपालबाट पारस खड्का, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाएका थिए । सन् २०२१ को सेप्टेम्बरमा ओमानविरुद्ध मस्कटमा ९० रन बनाउनु आसिफको यसअघिको व्यक्तिगत उच्च स्कोर थियो ।

आफ्नो इनिङ्समा ९० रन बनाएपछि आसिफ एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन बनाउने नेपालको दोस्रो खेलाडी बनेका थिए । रोहित पौडेलको ४० खेलको तुलनामा आसिफले ३२ खेलमा एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पुरा गरेका हुन् ।

आसिफ र कुशल भुर्तेलसँग पहिलो विकेटमा ११० रनको साझेदारी गरी नेपाललाई सानदार सुरुआत दिलाएका थिए । एक दिवसीय अन्तर्राष्ट्रियमा नेपाली ओपनिङ जोडिको यो दोस्रो ठुलो साझेदारी हो । यी दुईले नै गत वर्ष अमेरिकाको हृयुस्टनमा ओमानविरुद्ध ११४ रनको साझेदारी गरेका थिए ।

नेपाली खेलाडीको दशौं शतकीय साझेदारीमा यो छैटौं उत्कृष्ट साझेदारि हो । आसिफले नेपालबाट सर्वाधिक ८ अर्धशतक बनाइसकेका छन् । कुशल ४५ रनमा आउट भएपछि यो साझेदारी टुटेको थियो । कुशलले ५६ बल खेली ६ चौका प्रहार गरे ।

कुशल मल्ल २, ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए । आसिफले रोहितसँग चौथो विकेटमा ६७ रनको साझेदारी गरे । रोहितले ३० बल खेली ३ चौकाहित ३५ रन बनाए । आसिफ ३८ औं ओभरमा आउट भए । दीपेन्द्र ७ रनमा आउट भए भने आरिफ शेखले १५ रन जोडे । एक छक्का प्रहार गरेका करण केसी ८, सोमपाल कामी ७ रनमा आउट भए ।

नेपालको इनिङ्समा आउट हुने अन्तिम खेलाडी भिम सार्की रहे । उनले ३८ बल खेली ४ चौका प्रहार गरे । सेमो कामिआले ५ विकेट लिए । उनले ९.१ ओभरमा ३८ रन खर्चे । हेकुरेले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार