२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

तेस्रो निर्बाचन राष्ट्रपति आज

मतदान बिहान १० देखि : " साँझसम्म ७ बजेसम्म परिणाम आइसक्ने "

'कांग्रेसका पौडेललाई ९ दलको साथ, एमालेका नेम्वाङलाई आफ्नो पार्टीको मात्रै '

बिहिवार , फाल्गुण २५, २०७९


काठमाडौँ, फागुन । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज (बिहीबार) संसद् भवन बानेश्वरमा हुने निर्वाचनमा दुई पूर्वसभामुख रामचन्द्र पौडेल (कांग्रेस) र सुवासचन्द्र नेम्वाङ (एमाले) बीच प्रतिस्पर्धा हुँदैछ । कांग्रेसका पौडेललाई ९ दलको साथ छ भने एमालेका नेम्वाङलाई आफ्नो पार्टीको मात्रै भर छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल आइतबार सकिँदैछ । निर्वाचन आयोगले उनको कार्यकाल सकिनुअघि नै नयाँ राष्ट्रपति चुन्न लागेको हो । बिहान १० बजे सुरु भई मतदान अपराह्न ३ बजेसम्म हुनेछ । 

मतदान सकिएको बढीमा ४ घण्टाभित्र परिणाम आइसक्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले सञ्चारकर्मीलाई बताए । ‘३ बजे मतदान सकिएपछि ४ बजेबाटै गणना सुरु गर्छौं,’ उनले भने, ‘ढिलोमा ७ बजेसम्म परिणाम आइसक्छ ।’

निर्वाचनमा प्रतिनिधिसभाका २७२ (फरार १ सहित) , राष्ट्रिय सभाका ५९ र सातै प्रदेशसभाका  ५५० गरी ८८१ मतदाताले भाग लिनेछन् । संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार फरक छ । 

संघीय संसद् सदस्यको मतभार ७९ छ भने प्रदेशसभा सदस्यको ४८ छ । दुवै सभाको तत्काल कायम रहेका मतदाताको कुल मतभार भने ५२ हजार ६२८ रहेको छ । 

केही दिनअघि मृत्यु भएका जसपाका प्रतिनिधिसभा सांसद सहनाज रहमानको मतभार पनि यसमा जोडिएको छ । आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उनको नाम पनि समावेश छ ।

निर्वाचन अधिकृत पौडेलले रहमानको मृत्यु भएको जानकारी आइनसकेकाले उनको मतभार कायम राखिएको बताए । निर्वाचन आयोगका कानुन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले मतदान अधिकृतले के गर्ने भनेर निर्देशन मागेमा आयोगले निकास दिने बताए ।
 ‘रहमानको मृत्यु भएको जानकारी आयोगमा आइसकेको छ, मतदान अधिकृतले कुन मतभार कायम गर्ने भन्ने विषयमा निर्देशन मागेमा आयोगले निकास दिन सक्नेछ,’ उनले भने ।

निर्वाचनमा १४ वटा दलले सहभागिता जनाउँदै छन् । राप्रपाले राष्ट्रपति निर्वाचनमा भाग नलिने घोषणा गरेको छ । राप्रपाका प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सांसद छन् । उनीहरूको मतभार २ हजार ४५० छ ।

तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछ । कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा दोस्रो चरणमा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मतदान हुनेछ । 

त्यस्तो मतदानमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेछ । यो मतदानबाट पनि कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा पुनः मतदान हुनेछ । त्यस्तो मतदानमा खसेको कुल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेछ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार