२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कांग्रेस संसदीय दल 

कांग्रेस बैठक निर्णय : " प्रतिनिधिसभामा दलको भूमिकालाई सशक्त बनाउने "

'कांग्रेसलाई प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलका रुपमा  विजयी गराएकोमा मतदाताप्रति आभार प्रकट' 

शनिवार , पौष २३, २०७९


काठमाडौँ, पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसद्मा दलको भूमिका सशक्त र प्रभावकारी बनाउन एकताबद्ध भएर काम गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले त्यसका लागि तयारी गर्न सांसदहरुलाई निर्देशन दिएको पार्टीका मुख्य सचेतक रमेश लेखकले जानकारी दिएका छन । 
उनले भने,  “सिङ्गो पार्टी एकताबद्ध र एकढिक्का भएर प्रतिनिधिसभामा सशक्त भूमिका निर्वाह गर्ने निर्णय भएको छ । ” बैठकले नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दलका रुपमा प्रतिनिधिसभामा विजयी गराउनुभएकामा मतदाताप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेको छ । बैठकले पार्टीका नेता तथा कार्यकर्ताले दललाई हालको भूमिकामा पु¥याउन योगदान दिएकामा पनि धन्यवाद दिएको छ । 
स्थानीय तहको निर्वाचनपछि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गरेकामा कांग्रेस नेतृत्वको निवर्तमान सरकारलाई आभार व्यक्त गरेको मुख्य सचेतक लेखकले जानकारी दिएका छन । 
“निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी र सञ्चारगृहप्रति उच्च सम्मान प्रकट गरेको छ”, उनले भने । 
बैठकले संविधानसभा सदस्य तथा पूर्वसांसद झुलबहादुर आले र मैयादेवी श्रेष्ठप्रति शोकप्रस्ताव पारित गरेको छ । कांग्रेसले प्रतिनिधिसभाको बैठक प्रारम्भ हुनुभन्दा पहिला केही महत्वपूर्ण जानकारी नवनिर्वाचित सांसदलाई  दिनका लागि बैठक आयोजना गरेको हो । यही पुस २५ गते प्रतिनिधिसभाको बैठक बोलाइएको छ । 
पुस २६ गते प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुहुनेछ । त्यसको प्रक्रिया के हुन्छ र कसरी हुन्छ भन्नेबारेमा कांग्रेसले आफ्ना सांसदहरुलाई जानकारी गराएको हो । 
सङ्घीय संसद्मा कांग्रेसले निर्वाह गर्ने भूमिका र त्यसका लागि गर्नुपर्ने तयारीका बारेमा समेत बैठकमा जानकारी गराइएको मुख्य सचेतक लेखकले बताए ।  
संसदीय दलको अर्को बैठक यही पुस २६ गते संसद् भवन बानेश्वरको ल्होत्से हलमा बस्नेछ । “विश्वासको मतको प्रस्तावका बारेमा त्यही बैठकबाट निर्णय हुनेछ”, मुख्य सचेतक लेखकले भने, “हामी कुनै नयाँ गठबन्धन बनाउने र अहिलेको भत्काउने कामका लागेका छैनौँ ।”
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता डा शेखर कोइरालालगायत पदाधिकारी एवं सङ्घीय संसद्का सांसद सहभागी हुनुहुन्थ्यो । 
निर्वाचनबाट कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेर सबैभन्दा ठूलो दल बने पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार