२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस

नेता डा.कोइरालाले नेता कार्यकर्तालाई आश्वस्त पार्दै भने : " सत्ता गुम्यो, शक्ति गुमेको छैन " 

सोमवार , पौष ११, २०७९


काठमाडौँ, पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको बताएका छन । नेता कोइरालाले आज एक विज्ञप्ति जारी गरी सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको भन्दै पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई निराश नहुन आग्रह गरेका छन ।
“सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन, हामी थप सशक्त भएर कांग्रेस सशक्तिकरणको अभियानमा जुट्न दृढ सङ्कल्प गछौँ,” उनले भने । 
नेता डा कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्तारोहण अपेक्षित नभए पनि बहुमत जुटाएर प्रधानमन्त्री बनेको भन्दै उनलाई बधाई ज्ञापन गरेका छन । 
उनले संसद्को तेस्रो शक्ति भए पनि माओवादीले सरकारको नेतृत्व गर्ने अवस्था आउनुलाई अराजनीतिकको संज्ञा दिएका छन । “संसद्बाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित थिएन”, नेता कोइरालाले भने । 
संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनेर पार्टी सभापति  शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी असम्भव भयो भनेर गम्भीर प्रश्न उठेको उनको भनाइ छ ।

“हामीले यसको चित्तबुझ्दो जवाफ कांग्रेस कार्यकर्ता, समर्थक, शुभेच्छुकलगायत सबै आम नेपाली माझ दिनुपर्छ भन्ने मान्यता म राख्छु,” उनले भने । उनले कांग्रेस अब राष्ट्रिय राजनीतिमा नयाँ भूमिकामा प्रवेश गरेको भन्दै निराश नहुन सबैलाई आग्रह गरेका छन । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार