काठमाडौँ, पुस । निर्बाचन आयोगले निर्बाचनको अन्तिम परिणाम सार्बजनिक गरेपछि सरकार निर्माणमा तीब्र छलफल हुनथालेका छन । सत्ता गठबन्धन दलको सरकार बनाउन पुग्ने बहुमत रहेपनि नेतृत्व कसले गर्ने भन्ने बिषयमा बिबाद हुँदा अन्योलताको अवस्था सृजना भएको हो ।
बीबीसीका अनुसार, कांग्रेस र माओबादीका नेताले दिएको अभिव्यक्तिमा गठबन्धनलाई एक ढिक्का राख्ने दोहोर्याइरहेका देउवा र दाहालले आफू निकटका नेताहरूको माध्यमबाट नेकपा एमालेको नेतृत्वसँग पनि छलफल सुरु गरेका छन्।
“संस्थागत रूपमा नभए पनि व्यक्तिगत रूपमा कांग्रेसका नेताहरूले पनि र माओवादीका नेताहरूले पनि भेटिरहनुभएको छ। तर संस्थागत रूपमा उहाँहरूले गठबन्धनलाई नै टिकाइराख्ने निर्णय गरेका छन,” एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस र माओवादी नेताहरूसँग भेटवार्ता भइरहेको पुष्टि गर्दै भने।
“गठबन्धन अघि नबढ्ने भयो नभन्दासम्म यो विषय उहाँहरूको निजी चासो र चिन्ताको विषयजस्तो मात्रै देखिन्छ।” कांग्रेस र माओवादी नेताहरूको बाक्लिँदै गएको भेटवार्तालाई अहिलेलाई गठबन्धनभित्र “मोलमोलाइको” दृष्टिले मात्रै आफूहरूले हेरिरहेको एमाले नेताहरू बताउँछन्।
प्रतिनिधिसभामा ७८ सीट जितेको एमाले र कांग्रेस मिल्दा नयाँ सरकार निर्माणका लागि सहजै बहुमत पुग्छ। एमालेको र माओवाद सहित अरू केही साना दल मिलेर सरकार बनाउन पनि सम्भव छ।
“गणितीय हिसाबले चाहिँ सत्ता गठबन्धन नै सरकार बनाउन सक्ने सम्भावना देखिएको हुनाले हामी पर्ख र हेरको अवस्थामा छौँ,” एमाले उपमहासचिव ज्ञवाली भन्छन्। गठबन्धन एकजुट हुँदासम्म एमालेलाई सरकार गठनमा अग्रसरता लिन अप्ठ्यारो छ।
तर गठबन्धनमा भागबन्डा नमिलेको अवस्थामा एमाले आफ्नो नेतृत्वमा वा त्यो नभए नेतृत्व अरूलाई दिएर भए पनि सरकार निर्माणको खेलमा उत्रन सक्ने धेरैको आकलन छ।
एमालेले अहिलेको गठबन्धन भत्काउने सर्तमा कांग्रेस वा माओवाद सहितका दलहरूसँग सहकार्य गर्न सक्ने एमाले नेताहरू बताउँछन्।
“हामी परिस्थिति आउँदा निकास दिने पक्षमा छौँ तर अरूको महत्त्वाकाङ्क्षाको काँध हालेर हामी कसैको सवारी चाहिँ बन्दैनौँ,” ज्ञवालीले भने।