विश्व शान्ति र विकासको रक्षा गर्न चीन र अमेरिकाले मेलमिलापको बाटो खोज्नुपर्ने चिनियाँ राष्ट्रपति सी जिनफिङले बताएका छन् । हाल अमेरिका -चीनबीच अमेरिकी अधिकारीहरूको ताइवान भ्रमण साथै रुस - युक्रेन युद्धका पक्षलाई लिएर तनाव झेल्दै आएका छन । यसबीचमा चिनियाँ राष्ट्रपतिको यस्तो प्रस्ताव सार्वजनिक गरी आपसी सम्बन्ध बिस्तारको बाटो खोजेका छन ।
यस्तै, चिनियाँ कम्युनिस्ट पार्टीको तेस्रो कार्यकालको थालनीसँगै सी ले पार्टी महाधिवेशन सम्पन्न भएसँगै यस्तो धारणा सार्वजनिक गरेका हुन् । केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार उनले ताइवानमा चीनको सक्रियतालाई विदेशी हस्तक्षेप भनेकोमा असन्तुष्टि व्यक्त गरेका थिए ।
चिनियाँ राष्ट्रपति सी ले 'अमेरिका -चीन' सम्बन्ध राष्ट्रिय समितिको वार्षिक उत्सवमा बधाइ दिँदै लेखेको पत्रमा यस्तो जनाएका हुन् । उनले आजको संसार शान्तिपूर्ण नरहेको भन्दै प्रमुख शक्तिका रूपमा चीन र अमेरिकाबीच सञ्चार र सहयोगलाई सुदृढ बनाउनु आवश्यक रहेको औंल्याएका थिए ।
साथै दुई प्रमुख शक्तिबीच सम्बन्ध र सहयोगका कारण विश्वव्यापी स्थायित्व र विश्व शान्ति प्रवर्द्धन हुनेमा उनले विश्वास व्यक्त गरेका छन् । यसैबीच उनले अमेरिकासँग मिलेर काम गर्न तथा पारस्परिक सम्मान प्रदान गर्न, शान्तिपूर्वक सहअस्तित्वमा रहन चीन इच्छुक रहेको जनाएका छन् ।
जसले गर्दा दुवै देशका लागि मात्र नभएर विश्वलाई नै फाइदा हुने उनले विश्वास व्यक्त गरेका थिए । अमेरिकी राष्ट्रपति जो बिडेनको प्रशासनले भने यसअघि नै चीन एक मात्र अमेरिकी प्रतिस्पर्धी भएको जनाएको थियो । साथै अमेरिकाले चीनसँग द्वन्द्व गर्न नखोज्ने र चिनियाँ राष्ट्रपति सी पनि यस्तो तथ्यबारे सचेत रहेको बाइडेनले बताएका थिए ।
यद्यपि गत अगस्ट महिनामा अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेको विषयलाई लिएर चीन - अमेरिका युद्ध नजिक पुगेको भन्दै चौतर्फी टिप्पणी भएको थियो । पेलोसीको भ्रमणलाई लिएर चीनले भने अमेरिकालाई बारम्बार चेतावनी दिएको थियो।