चार्ल्स तृतीयलाई लन्डनस्थित सेन्ट जेम्सेज प्यालेसमा आयोजित एक विशेष समारोहमा राजा घोषणा गरिएको छ। शनिवार बिहान भएको परम्परागत कार्यक्रममा - जुन पहिलो पटक टेलिभिजनमा प्रसारण गरिएको थियो - दिवङ्गत महारानीको शोकमा झुकाइएको झण्डा नयाँ राजा बनेको खुसीयालीका अवसरमा पूर्ण रूपमा फहराइएको थियो।
यूकेभर आइतवारसम्म थप घोषणाहरू हुनेछन् त्यसपछि ८ सेप्टेम्बरमा दिवङ्गत भएकी महारानीको शोक मनाउने समयका कारण झण्डालाई फेरि आधा झुकाइनेछ।
एक्सेसन काउन्सिल भन्ने निकायले नयाँ राजाको औपचारिक घोषणा गरेको हो। अनि परम्परागत रूपमा विस्तृत समारोहसहित शपथ लिइएको थियो। यस्तो शपथ सात दशकयता पहिलो पटक आयोजना भएको हो।
तस्बिर : GETTY IMAGES
तस्बिर क्याप्शन : नयाँ राजाको समर्थनमा टोपी उठाएर सम्मान
खासमा घोषणा के हो?
चार्ल्स राजा बनिसकेका थिए- एक्ट अफ सेटलमेन्ट १७०१ को व्यवस्था अनुसार उनी उनकी आमाको मृत्यु पछि उनी स्वतः राजा बन्छन्। त्यसैले एक्सेसन काउन्सिलको कार्यक्रमको उद्देश्य नयाँ राजाको नाम घोषणा गर्ने आलङ्कारिक जिम्मेवारी पूरा गर्नु थियो।
साधारणता यस्तो कार्यक्रम शासकको मृत्यु भएको २४ घण्टाभित्रै हुने गर्छ। तर यस पटक महारानी एलिजाबेथ द्वितीयाको मृत्यु र बकिङ्घम दरबार नजिकै रहेको सेन्ट जेम्सेज प्यालेसबीचको समारोह हुनमा केही समय लागेको छ।
त्यसैगरी राजा चार्ल्सले उनी राजा बन्ने औपचारिक समारोहलाई टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्न दिने निर्णय गरेर एक अर्को परम्परा तोडेका छन्।
को को सहभागी थिए?
प्राइभी काउन्सिल भनिने राजाका औपचारिक सल्लाहकारहरूको निकायमा २०० भन्दा बढी सदस्य छन् जसमा पूर्व र अहिलेका राजनेताहरू पर्छन्- उनीहरू र अन्य अधिकारीहरू सेन्ट जेम्सेज प्यालेसमा सहभागी भएका थिए। काउन्सिल नोर्म्यान राजाहरूको समयदेखि अस्तित्वमा छ। यसका कुल ७०० सदस्यमध्ये २०० जना बोलाइएका थिए।
यूकेका पूर्व प्रधानमन्त्रीहरू गोर्डन ब्राउन, डेभिड क्यामरन, बोरिस जोनसन र टरिजा मे - जसले महारानीसँग कैयौँ वर्ष यता धेरै समारोहमा भेटेका थिए - सबै सहभागी थिए। त्यसैगरी लन्डनका मेयर, वरिष्ठ न्यायाधीशहरू र अन्य अधिकारीहरू पनि सहभागी थिए।
राजा चार्ल्सकी श्रीमती क्यामिला पार्कर बावल्स जो १७ वर्षदेखि चार्ल्सकी श्रीमती रहेकी छन् र हाल नयाँ उपाधि क्वीन कन्सोर्ट पाएकी छन् र राजाका छोरा विलियम जो नयाँ प्रिन्स अफ वेल्स हुन् पनि उपस्थित थिए।
तस्बिर स्रोत,GETTY IMAGES
तस्बिरको क्याप्शन: ब्रिटेनका पूर्व प्रधानमन्त्री र कैयौँ शीर्ष नेताहरू समारोहमा उपस्थित थिए
पहिलो भाग : राजाको नाम घोषणा गरियो
एक्सेसन काउन्सिल दुई भागमा बाँडिएको थियो र राजा चार्ल्स दोस्रो भागमा मात्र उपस्थित थिए। पहिलो भागमा प्रधानमन्त्री लिज ट्रसले ६ सेप्टेम्बरमा नियुक्त गरेकी कन्जरभेटिभ पार्टीका सांसद द लर्ड प्रेसिडेन्ट पेनी मोर्डन्ट थिइन् उनैले महारानीको मृत्युको घोषणा गरेकी थिइन्। उनले त्यसपछि काउन्सिलका क्लर्कलाई राजा बनाउने घोषणा पढ्न भनिन् जसमा चार्ल्सलाई राजा चार्ल्स तृतीय भनिएको थियो।
त्यसपछि समारोहमा उपस्थित करिब २०० जना व्यक्तिले एक साथ "ईश्वरले राजाको रक्षा गरून्" भनेका थिए। त्यसपछि दस्तावेजहरूमा हस्ताक्षर गरिएको थियो। राजकुमार विलियम, प्रधानमन्त्री लिज ट्रस र आर्चबिशप जस्टिन वेल्बीले त्यो समारोहको अवलोकन गरेका थिए।
तस्बिर स्रोत,PA MEDIA
तस्बिरको क्याप्शन : राजा चार्ल्स तृतीयको सम्मानमा सलामीमा सहभागी हुँदै सैनिकहरू
तस्बिर स्रोत,PA MEDIA
तस्बिरको क्याप्शन : लन्डनमा शाही सलामी
त्यसपछि उक्त घोषणा शाही परिवारका सदस्यहरू, प्रधानमन्त्री, क्यान्टरबरी चर्चका आर्चबिशप र लर्ड चान्सलर र द ड्यूक अफ नर्फोकका अर्ल मार्शलले पनि हस्ताक्षर गरेका थिए। उनीहरू नै यो समारोह आयोजना गर्ने जिम्मेवार निकाय हुन्।
हस्ताक्षरपछि मोर्डन्टले सबैलाई शान्त रहन आग्रह गर्दै त्यसपछि गर्नुपर्ने काम पढेर सुनाएकी थिइन्। जसमा सेन्ट्रल लन्डनको हाइड पार्क र टावर अफ लन्डनमा तोप पड्काउने पनि थियो। उक्त घोषणा बेलफास्ट, कार्डिफ, एडिनबरा र देशका अरू भागमा पनि पढेर सुनाइएको थियो।
दोस्रो भाग: राजाको सम्बोधन
एक्सेसन काउन्सिलको दोस्रो अंशमा प्राइभी काउन्सिलले नयाँ राजालाई सेन्ट जेम्सेज प्यालेसको गद्दी भएको कक्षमा अभिवादन गरेको थियो।त्यो नयाँ राजाले आयोजना गरेको प्राइभी काउन्सिलको पहिलो बैठक थियो।
तस्बिर स्रोत,GETTY IMAGES
काउन्सिलरहरू लामवद्ध भएर उनको स्वागतमा उभिएका थिए। प्राइभी काउन्सीलमा कोही पनि नबस्ने प्रचलन रहेकाले सबैजना उभिएका थिए।
काउन्सिलमा गरेको पहिलो सम्बोधनमा भावुक सुनिएका नयाँ राजाले "आफ्नी प्रिय आमाको सेवामा समर्पित जीवनबारे" बोलेका थिए र उनको पदचाप पछ्याउने वाचा गरेका थिए।
"सम्पूर्ण विश्वले हामी सबैले बेहोरेको अपूरणीय क्षतिमा मसँग सहानुभूति व्यक्त गरिरहेको छ।" "मेरी आमाको शासनकाल आफ्नो सेवा अवधि, समर्पण र निष्ठाका हिसाबले अतुलनीय रहेको थियो। हामी सबै शोकमा हुँदा पनि हामी यो सबैभन्दा इमान्दार जीवनका लागि धन्यवाद दिन चाहन्छौँ।"
राजाले आफ्नो नयाँ जिम्मेवारीका बारेमा पनि चर्चा गरेका थिए। "म यो गहिरो विरासत, भारी दायित्व र जिम्मेवारीहरू जुन अब मलाई हस्तान्तरण भएको छ त्यसबारे गम्भीर रूपमा जानकार छु।" उनले क्वीन कन्सोर्ट क्यामिलालाई धन्यवाद पनि दिए। "म अगाध रूपमा मेरी प्रिय श्रीमतीको निरन्तरको समर्थनले प्रोत्साहित छु।"
चार्ल्सले कुन शपथप्रति प्रतिबद्धता जनाए?
एक्ट अफ युनियन अनुसार नयाँ राजाले चर्च अफ स्कटल्यान्डलाई कायम राख्ने र संरक्षण गर्ने शपथ लिनुपर्ने हुन्छ। स्कटल्यान्डमा चर्च र राज्यबीच शक्ति पृथकीकरण भएकाले यसो गरिएको हो।
चार्ल्सले प्राइभी काउन्सिलको सामुन्ने शपथको दुई वटा कपीमा हस्ताक्षर गरे। नयाँ प्रिन्स अफ वेल्स राजकुमार विलियम र त्यसपछि क्वीन कन्सोर्ट क्यामिलाले प्रत्यक्षदर्शीका रूपमा त्यसमा हस्ताक्षर गरे।
तस्बिर स्रोत,PA MEDIA
अन्तिम प्रत्यक्षदर्शीहरूले उक्त घोषणामा हस्ताक्षर गरिरहँदा एउटा ब्यान्डले बाजा बजाउन थाल्यो। चार्ल्सले आफूलाई लिन लगाइएको कुनै पनि शपथप्रति असहमति जनाउन सक्थे। यद्यपि अन्तिम पटक कुनै नयाँ राजाले सन् १९१० मा त्यसो गरेका थिए। त्यसबेला राजा जर्ज पाँचौले शपथको घोषणामा रहेको क्याथलिक विरोधी शब्दलाई अस्वीकार गरेका थिए।
बालकोनीमा के भयो?
त्यसपछि दरबारको बाहिर गतिविधिहरू अघि बढ्यो। सर्वसाधारणहरूलाई द मलबाट फ्रायरी कोर्टमा चार्ल्स तेस्रोलाई राजा घोषणा गरेको हेर्न दिइयो।
तस्बिर स्रोत,GETTY IMAGES
तस्बिरको क्याप्शन : ब्रिटेनका नयाँ राजाको घोषणा फ्रायरी कोर्टको बार्दलीबाट वाचन गरिएको थियो
"उनीहरू आफ्ना घर पालुवा जनावर, फुलका गुच्छा, स्पाइडरम्यानको पाइजामा लगाएका एक सानो बच्चा, मोबिलिटी स्कूटरहरू लिएर आएका थिए। त्यहाँ सुट लगाएका मानिस पनि थिए साइकल चलाउने पोसाकमा मानिसहरू थिए," उक्त चोकमा उपस्थित बीबीसीका जेम्स ब्रायन्टले भने।
द गार्टर किङ अफ आर्म्सले फ्रायरी चोकभन्दा माथि रहेको बार्दलीमा गएर घोषणा वाचन गर्दा स्टेट ट्रम्पेटर्सहरूले शाही सलामी बजाएका थिए। त्यसपछि राष्ट्रिय गान बजाइएको थियो जसका शब्दहरू थिए, "ईश्वर राजाको रक्षा गरून्।" ती शब्दहरू सात दशकभन्दा बढी समयपछि पहिलो पटक उच्चारण गरिएको थियो।
त्यसपछि सामूहिक उत्सव सुरु भयो। गार्टर किङ अफ आर्म्सले घोषणा गरे, "महामहिम राजाका लागि थ्री चिअर्स। हिप-हिप.." त्यसको जवाफमा राजाका गार्डले रौँबाट निर्मित टोपीलाई टाउकोमाथि उठाएर तीन पटक नै "हुर्रे' भनेर जवाफ दिए।
स्टेट ट्रम्पेटर्स र द हेराल्डले त्यसपछि सवारीको बन्दोबस्त गरे। उनीहरूले लन्डन सहरमा रहेको रोयल एक्सचेन्जमा सवारी पुर्याए जहाँ थप घोषणा वाचन गरिएको थियो।
तस्बिर : GETTY IMAGES
तस्बिर : स्टेट ट्रम्पेटर्स भनिने वाद्यवादकहरू फ्रायरी कोर्टको बार्दलीमा उभिएर बाजा बजाएका थिए
अब के हुन्छ?
प्राइभी काउन्सिलका क्लर्कले चार्ल्स "राजा, राष्ट्रमण्डल प्रमुख र आस्थाका रक्षक" भन्दै "ईश्वरले राजाको रक्षा गरून्" भनेका थिए। पेनी मोर्डन्टले घोषणामा रहेका मस्यौदा आदेशहरू स्वीकृत गर्नका लागि पढ्दै गइन् र राजा चार्ल्स तृतीयले तिनलाई एकपछि अर्को गर्दै अनुमोदन गर्दै गए।
तस्बिर : राजाले एक एक गर्दै आदेशमा हस्ताक्षर गरेका थिए
त्यसमध्ये एक चाहिँ महारानीको शवयात्राका दिन ब्याङ्क होलिडे अर्थात् बिदा दिने पनि थियो। तर अब चार्ल्सको राज्यारोहणका लागि केही समय लाग्न सक्छ। किनभने महारानी एलिजाबेथका बाबु राजा जोर्ज छैटौँको निधन फेब्रुअरी १९५२ मा भएको थियो भने उनको राज्यारोहण जुन १९५३ मा भएको थियो। - बीबीसीबाट