काठमाडौँ, भदौ । भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डे पाँच दिवसीय भ्रमणका निम्ति आज, आइतबार, नेपाल आउँदै छन । भारतीय सेनाध्यक्ष पाण्डे प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा नेपाल आउन लागेका हुन ।
उहाँ नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाध्यक्ष पाण्डेलाई नेपाल भ्रमणकै क्रममा नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यस अवसरमा सेनाध्यक्षलाई खड्ग र प्रमाणपत्र पनि प्रदान गरिनेछ । नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ ।
विसं २००७ मा भारतीय सेनाका फिल्ड मार्शल केएम करिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गरिएको थियो भने विसं २०२६ मा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ सेना प्रमुखद्वारा विभूषित भएका थिए । अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी पाएका थिए । सन् २०२० मा भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको हो ।
हालसम्म भारतका २१ र नेपाली सेनाका १७ जना सेनापतिले यस्तो सम्मान प्राप्त गरिसकेका छन । दुवै सेनाबीच सहअस्थित्व र समानता छ नेपाल र भारतबीचको विशिष्ट एवं बहुआयामिक सम्वन्धको परिप्रेक्ष्यमा दुवै देशका सेनाबीच आपसी सहअस्तित्व र समानतामा आधारित प्रचलनले समग्रमा नेपालको परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा प्रवद्र्धन तथा सामरिक प्रतिरक्षामा समेत योगदान पुग्ने सैनिक प्रवक्ता नारायण सिल्वालले सञ्चारकर्मीलाई बताएका छन ।
उनले भने, “मानार्थ महारथीबाट शुशोभन गर्ने परम्पराले दुई देशबीच सद्भाव र सौहार्दपूर्ण सम्बन्ध थप प्रगाढ तुल्याउन योगदान पु¥याउदै आएको छ ।”
नेपाल र भारत दुवै मुलुकले यस्तो सुशोभन कार्यक्रम राष्ट्रपति भवनमै आयोजना गर्ने परम्पराले सहअस्तित्व र समानताका आधारलाई पुष्ट्याइ गरेको छ । केही वर्षअघि भएको नाकाबन्दी खुलाउन सैनिक कूटनीतिमार्फत दुवै देशका सेनाको पहलमा ‘बे्रक थ्रु’ भएको थियो ।
नेपालका कुटनीतिक जानकार भने, भारतका सेना प्रमुखको नेपाल आगमनले सम्मान र सहकार्य मात्र नभई राजनीतिक रुपमा पनि केही महत्व राख्ने र केही दिशा दिएर जाने संम्भावना रहेको बताउँछन । हाल नेपालको राजनीतिमा अमेरिकी र चिनियाँबाट राजनीतिक अवस्था र सन्तुलनका बारेका ठूलो दबाव रहेको कुटनीतिज्ञ बताउँछन ।
अहिले नेपालको राजनीतिमा भमेरिकी, चिनियाँ र भारतीय लबीको थेग्नै कठिन हुनेखालको दबाब छ । र भारतीय सेनाध्यक्षको यो भ्रमणले नेपाल, नेपालको राजनीति र नेपाली सेनामाथि गतिको लागि पनि छलफल हुने र एउटा निर्दिष्ट दिशाको पहल हुने पनि जानकार बताउँछन ।
प्राकृतिक प्रकोप र भूकम्पका समयमा भारतीय सेनाबाट सक्रियाताका साथ खोज, उद्धार र राहतमा सहयोग प्राप्त हुँदैआएको छ । नेपाली र भारतीय सेनाबीच सहकार्यका सिलसिलामा विगतदेखि नै एक–अर्का देशमा विभिन्न सेमिनार, तालिम र अभ्यास चल्दैआएको छ ।
नेपाली सेनाका अनुसार, भारतमा सञ्चालन भएका विभिन्न तालिममा सन् १९८९ देखि हालसम्म दुई हजार चार सय १७ अधिकृत र एक हजार तीन सय ७८ अन्य दर्जाको सहभागिता भइसकेको छ ।
रासस लेख्छ, मानार्थ प्रदान गर्ने अद्भूत प्रचलन सेनाका पूर्वउपरथी हिमालय थापाले दुवै देशका सेनाबीच सुमधुर, सद्भावपूर्ण, सुदृढ र प्रगाढ सम्बन्ध रहेको बताएका छन । उनले भने, “सेनाको तालिम र अभ्यासका आधारमा सोच विचार र ‘ग्रुमिङ’को तरिका एकै खालको छ, सेनाको प्रशंसनीय र उत्कृष्ट काम, लगन र प्रतिबद्धताले एक–अर्का देशका सेनापतिलाई मानार्थ सम्मान प्रदान गर्ने अद्भूत प्रचलन रही आएको छ ।”
भारतीय सेनामा ठूलो सङ्ख्यामा नेपाली युवा कार्यरत रहनुले पनि दुई देशबीचको सम्बन्धलाई सरकार र जनस्तरमा समेत सुमधुर तुल्याउन विशिष्ट योगदान पु¥याएको छ । भारतीय सेनाले सन् २०१० देखि हालसम्म नेपाली सेनालाई करिब छ अर्ब भारतीय रुपियाँ मूल्य बराबरको हातहतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, हेलिकप्टर, मोटर र मेडिकल उपकरजस्ता सैनिक सामग्री केही सहयोग र केही ठूलो सहुलियत दरमा सामग्री उपलब्ध गराउँदै आएको छ ।
कोरोना सङ्क्रमणले आक्रान्त तुल्याएको समयमा भारतीय सेनाले आइसियु भेन्टिलेटर र अस्पतालका लागि आवश्यक मेडिकल सामग्री पनि सहयोग गरेको थियो ।
सन् २००३ पछि गठन भएको सुरक्षा मामिलासम्बन्धी नेपाल–भारत परामर्श समूहको बैठकमा भएका सहमति अनुरुप भारतीयले ती सामग्री नेपाललाई उपलब्ध गराएको हो ।
उक्त बैठकको सुरुआत हुन अघि पनि भारतीय सेनाले हतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, हवाई साधन, सवारी साधन, हलेमेट, बुलेटप्रुफ ज्याकेट तथा अन्य सैनिक सामग्रीसमेत उपलब्ध गराएको थियो ।