२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपालमा खाद्य सुरक्षाको अवस्था

प्रधानमन्त्री देउवाले भने :'मुलुकमा पर्याप्त उत्पादन हुने खाद्यवस्तु पनि आयात गर्नुपर्दा चिन्ता'

बिहिवार , भाद्र २, २०७९

काठमाडौँ, भदौ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमै उत्पादन हुने खाद्यवस्तु पनि आयात गर्नुपर्ने अवस्था सिर्जना हुनु चिन्ताको विषय भएको बताएका छन ।  राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र नेपाली सेनाको प्रबन्धरथी विभागको संयुक्त आयोजनामा ‘नेपालमा खाद्य सुरक्षाको अवस्था’ विषयक दुईदिने सेमिनारको आज समापन समारोहलाई समबोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकभित्रै पर्याप्त मात्रामा खाद्य उत्पादन गरेका छन । 
“नेपालमै पर्याप्त मात्रामा उत्पादन गर्न सकिने चामल, गहुँ, मकै र तरकारीजस्ता खाद्यवस्तु पनि विदेशबाट आयात गरेर खानुपर्ने स्थिति हामी सबैका लागि चिन्ताको विषय हो”, प्रधानमन्त्री देउवाले भने, “यसले मुलुकको व्यापार घाटालाई समेत उच्च बनाउँदै लगेको छ ।”
उनले यो स्थितिमा सुधार ल्याउन मुलुकभित्रै पर्याप्त मात्रामा खाद्यान्न उत्पादन गरी खाद्यमा सबैको पहँुच र आन्तरिक खाद्यको मागलाई स्वदेशभित्रबाटै पूर्ति गर्न प्रेरित हुन आवश्यक रहेको बताए । नेपालको कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढी हिस्सा कृषिमा आश्रित भए तापनि खाद्य उत्पादनका हिसाबले संसारकै कमजोर रहेको पनि उनको भनाइ थियो । 
प्रधानमन्त्री देउवाले मुलुकभित्रै पर्याप्त मात्रामा धान, गहुँ, जौ, मकैजस्ता खाद्यान्न बाली, फलफूल तथा तरकारीजस्ता बागवानीजन्य वस्तु उत्पादन गर्न सकिने सम्भावनाको सदुपयोग गर्न नसकिएको प्रति चिन्ता प्रकट गरे ।
उनले परम्परागत खेती, सिँचाइ तथा मलखादको अपर्याप्तता, जमिनको खण्डीकरण, कृषि, श्रमिक, उन्नत बीउबिजनको अभाव, बेमौसमी वर्षा र उत्पादित वस्तुको उचित बजारीकरण हुन नसक्दा केही वर्षयता खाद्यान्नको उत्पादनमा कमी हुँदै आइरहेको जानकारी गराएका थिए ।  खाद्य सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण देखिएको मुख्य खाद्य वस्तुको बाली विस्तार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा उनले जोड दिए ।  

उनले खाद्य सुरक्षाजस्तो समसामयिक विषयमा विज्ञ सरोकारवाला निकायका प्रतिनिधि सहभागी गराई महत्वपूर्ण कार्यक्रम आयोजना गरेकामा नेपाली सेना र राष्ट्रिय सुरक्षा परिषद्प्रति आभार व्यक्त गरे ।  
प्रधानमन्त्री देउवाले स्वास्थ्य र क्रियाशील जीवन जिउनका लागि सन्तुलित पोषणयुक्त खाद्य पदार्थ महत्वपूर्ण हुने बताएका छन ।  खाद्यको उच्च महत्वलाई हृदयङ्गम गरी नेपालको संविधानले खाद्य सम्प्रभुताको हकलाई नागरिकको मौलिक हकका रूपमा राखेको पनि उनले स्मरण गरे । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार