२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

चिनियाँ जासुसी पानीजहाज श्रीलंकामा

भारतले सुरक्षा चासो बढायो : 'श्रीलङ्का भन्छ : जल क्षेत्रमा रहँदा काम नगर्ने सर्तमा रोकिन दिइएको '

बुधवार , भाद्र १, २०७९

क चिनियाँ पानीजहाज भारतीय चासोबीच श्रीलङ्काको हम्बनटोटा बन्दरगाहमा आइपुगेको छ।  बन्दरगाह अधिकारीहरूका अनुसार युआन वाङ् ५ लाई श्रीलङ्काली जल क्षेत्रमा रहँदा कुनै काम नगर्ने सर्तमा त्यहाँ रोकिन दिइएको हो।

भारतले यसअघि उक्त पानीजहाज जासुसी गतिविधिमा प्रयोग हुनसक्ने भन्दै आफ्नो चासो व्यक्त गरेको समाचारहरूमा जनाइएको थियो।

श्रीलङ्काको विदेश मन्त्रालयका अनुसार उक्त पानीजहाजलाई अगस्ट २२ सम्म चिनियाँहरूले व्यवस्थापन गरिरहेको बन्दरगाहमा रहने अनुमति दिइएको हो। 

कस्तो पानीजहाज  ?

विज्ञहरूलाई उद्धृत गर्दै रोयटर्स समाचार संस्थाले युआन वाङ् ५ चीनको पछिल्लो पुस्ताको जासुसी पानीजहाजमध्ये रहेको जनाएको छ।यो पानीजहाजले भूउपग्रह, रकेट र अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपणलाई निगरानी गर्न सक्छ।

कैयौँ भारतीय सञ्चारमाध्यमहरूले त्यसलाई "दोहोरो प्रयोजनमा प्रयोग हुने जासुसी पानीजहाज" भनेर व्याख्या गरेका छन्। पानीजहाजसम्बन्धी वेबसाइटहरूले त्यसलाई अध्ययन, अनुसन्धान र अनुगमनसम्बन्धी जहाज बताउने गर्छन्।

भारतले चासाे बढायाे 

भारतीय न्यूज वेबसाइट एनडीटीभीले नयाँ दिल्लीले "पानीजहाजको ट्र्याकिङ प्रणालीले श्रीलङ्का जाने क्रममा भारतका सुरक्षा पूर्वाधारका विषयमा जासुसी गरिने सम्भावनाबारे" चासो व्यक्त गरेको जनाएको छ। 

यसअघि जुलाईमा भारतीय विदेश मन्त्रालयका एक प्रवक्ताले आफ्नो सरकारले उक्त पानीजहाजको योजनाबद्ध भ्रमणलाई निरीक्षण गरिरहेको बताएका थिए।  उनले दिल्लीले आफ्नो सुरक्षा र आर्थिक स्वार्थहरूको बचाउ गर्ने बताए। 

हम्बनटोटा बन्दरगाह

तस्बिर स्रोत,AFP


 यस महिनाको सुरुमा श्रीलङ्काको विदेश मन्त्रालयले चीनलाई पानीजहाजले मागेको बन्दरगाहमा आश्रयको लागि आग्रहलाई अस्थायी रूपमा रोक्दै त्यसका लागि "थप छलफल" आवश्यक पर्ने जनाएको थियो। 

बेइजिङको प्रतिक्रिया

चीनले त्यसको जबाफमा कुनै देशको नाम नलिई "केही देशहरूले कथित 'सुरक्षा चासो' भनेर श्रीलङ्कालाई दबाव दिने काम पूरै औचित्यहीन" रहेको  हाल गम्भीर आर्थिक सङ्कटमा रहेको श्रीलङ्कामा बेइजिङको बढ्दो प्रभावका माझ भारतीय चासो देखा परेको हो। 

बेइजिङले श्रीलङ्कालाई बेल्ट एन्ड रोड अवधारणा अन्तर्गत एशियामा पूर्वाधार विकास गर्नका लागि अर्बौँ डलर ऋण दिएको छ।  यद्यपि ती सबैजसो आर्थिक सहायता श्रीलङ्कालाई फाइदा पुग्ने गरी भएका छैनन्। 

उदाहरणका लागि सन् २०१७ मा चाइना मर्चेन्ट्स पोर्ट होल्डिङ्सले धेरैजसो सेअर लिएर हम्बनटोटा बन्दरगाहलाई ९९ वर्षका लागि भाडामा लिएको थियो। 

युआन वाङ् ५ रोकिरहेको उक्त बन्दरगाह निर्माणको ऋण तिर्न कोलम्बोले सङ्घर्ष गरिरहेको थियो। -  बीबीसीबाट

Presentational grey line
युआन वाङ् ५

तस्बिर स्रोत,GETTY IMAGES


तस्बिर :युआन वाङ् ५

के यो सन्तुलनको प्रयास हो?

विकास पाण्डे, बीबीसी न्यूज, दिल्ली

यो पानीजहाज विवादसँगै श्रीलङ्काले बारम्बार भारत र चीनबीच एकलाई रोज्नुपर्दा हुने कठिन कूटनीतिक सकस प्रतिबिम्बित भएको छ।  भारतले पानीजहाजका विषयमा श्रीलङ्कालाई दबाव दिएको भनिएका कुरा अस्वीकार गरेको छ। तर यस पानीजहाज जोडिएको विषयमा उसले अप्रत्यक्ष प्रतिक्रियाको रूपमा आफ्नो "सुरक्षा र आर्थिक स्वार्थहरूसँग सम्बन्धित जुन कुनै विकास क्रमलाई सजगतापूर्वक अनुगमन गरिरहेको" जनाएको छ।

आर्थिक सङ्कटहरूसँग जुझ्ने क्रममा श्रीलङ्कालाई सहायता पठाउने देशहरूमा भारत अग्रपङ्क्तिमा थियो। तर पछिल्लो विवादले त्यसलाई छायामा पार्न सक्ने देखिन्छ।

दिल्लीको कूटनीतिक वृत्तमा धेरैले कोलम्बोमा रहेको नयाँ सत्ताले के फेरि भारत र चीनबीच मायावी सन्तुलन कायम राख्न खोजेको त होइन भनेर सोचिरहेका छन्।आउँदा दिनमा दिल्लीले श्रीलङ्काली नेताहरूसँग पर्दापछाडि र सार्वजनिक वक्तव्यहरूमा कसरी प्रतिक्रिया जनाउँछ भन्ने जान्नु रोचक हुनेछ। -  बीबीसीबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार