२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

रुस युक्रेन युद्ध

राष्ट्रपति जेलेन्स्कीले सर्वसाधारणलाई भने : 'युक्रेनमाथी रुसी सेनाको क्रूरताबाट जोगिन डोनेट्स्क क्षेत्र छाड '

आइतवार , श्रावण १५, २०७९

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको नियन्त्रणमा रहेका पूर्वी डोनेट्स्क क्षेत्रमा बसिरहेका सबै सर्वसाधारणलाई रुसी क्रूरताबाट जोगिनका लागि उक्त स्थान खाली गर्न आदेश दिएका छन्। शनिवार राति अबेर सम्बोधन गर्दै जेलेन्स्कीले उक्त क्षेत्रमा युद्ध अझै चर्किन सक्ने चेतावनी दिए। "जति धेरै मानिसहरूले अहिले डोनेट्स्क क्षेत्र छाड्नेछन्, रुसी सेनासँग उति नै कम समय हत्या गर्नका लागि हुनेछ," उनले भने।

उक्त क्षेत्रमा भीषण लडाइँहरू भएका छन्। उक्त क्षेत्रको अधिकांश भाग अहिले रुसको नियन्त्रणमा छ। रुसी सैनिकहरू अरू स्थानमा बिस्तारै अघि बढिरहेका छन्।

राष्ट्रपति जेलेन्स्कीले भने, "हामी सबै उपलब्ध अवसरहरू प्रयोग गरेर सम्भव भएसम्म बढी जीवनरक्षा गर्नेछौँ र रुसी आतङ्कलाई सकेसम्म सीमित बनाउनेछौँ।"

उनका अनुसार अझै हजारौँ सर्वसाधारणहरू उक्त क्षेत्रमा फसेका छन् र अधिकारीहरूले उनीहरूलाई सहयोग जारी राखेका छन्। शुक्रवार रुसी आक्रमणमा परेर छ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए।

कसरी मारिए ५० युक्रेनी युद्धबन्दी?

डोनेट्स्कमा रुससमर्थित पृथक्तावादीको नियन्त्रणमा रहेको अर्को क्षेत्रमा रहेका ५० युक्रेनी युद्धबन्दीहरूको मृत्युका विषयमा अनुसन्धान गर्न रुसले राष्ट्रसङ्घ र रेडक्रसका अधिकारीहरूलाई निम्तो दिएपछि जेलेन्स्की बोलेका हुन्।

जेलमा भएको आक्रमणका क्रममा अस्पष्ट खालको परिस्थितिमा ती सैनिकहरू मारिएका थिए र दुवै पक्षले एकअर्कालाई आरोप लगाइरहेका छन्।

 

आजोभस्टालस्थित स्टील उद्योगको सुरक्षामा खटिएका सैनकहरूका आफन्तले रुसविरुद्ध शनिवार किएभमा प्रदर्शन गरेका थिए
 
तस्बिरको क्याप्शन  :  आजोभस्टालस्थित स्टील उद्योगको सुरक्षामा खटिएका सैनकहरूका आफन्तले रुसविरुद्ध शनिवार किएभमा प्रदर्शन गरेका थिए । तस्बिर  :REUTERS
 

शनिवार साँझ बोल्दै रुसी रक्षा मन्त्रालयका अधिकारीहरूले मस्कोले उक्त घटनाको "वस्तुगत अनुसन्धान" लाई स्वागत गर्ने बताए। रेडक्रसले शुक्रवार रुसले सञ्चालन गरेको उक्त कारागारसम्मको पहुँच माग गरेको तर कुनै अनुमति नपाएको जनाएको थियो।

युक्रेनस्थित रेडक्रसका उपप्रमुखले युद्धबन्दीहरूसम्म पहुँच दिनु जिनिभा महासन्धि अनुसारको बाध्यात्मक दायित्व भएको बताए।

रुसलाई समर्थन गर्ने सैनिकहरू

तस्बिर :  REUTERS

के भन्छ रुस?

ओलेनिभ्का बन्दी शिविरको नियन्त्रण रुसको समर्थन पाएको स्वघोषित डोनेट्स्क जनवादी गणतन्त्रले गर्ने गरेको छ। त्यहाँ शुक्रवार के भएको थियो भन्ने स्पष्ट छैन। तर घटनापछिको अप्रमाणित रुसी भिडिओ फुटेजमा ध्वस्त भएका बिछ्यौनाहरूको थुप्रो र नराम्रोसँग जलेका शवहरू देख्न सकिन्छ।

शनिवार रुसले ज्यान गुमाएका ५० जना युद्धबन्दीको नाम प्रकाशित गरेको थियो। युक्रेनले अमेरिकामा निर्मित हिमार्स अस्त्र प्रणालीको प्रयोग गरी आक्रमण गरेको रुसको दाबी छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

युक्रेन-रुस युद्ध: रुसी क्षेप्यास्त्रले विस्फोट गराएको दृश्य

के भन्छ युक्रेन?

यद्यपति किएभले आक्रमणमा आफ्नो संलग्नतालाई अस्वीकार गर्दै आएको छ। उसले युद्ध अपराधको प्रमाण लुकाउन रुसले नै सो आक्रमण हमला गराएको आरोप लगाएको छ।

यसैबीच युक्रेनी अधिकारीहरूले रुसलाई "आतङ्कवादी राज्य" को सङ्ज्ञा दिएका छन्।

मस्कोको लन्डनस्थित दूतावासले युक्रेनको आजोभ रेजिमेन्टका सैनिकहरूलाई झुन्ड्याएर "अपमानजनक मृत्यु" दिइनुपर्ने धारणा ट्विटरमा राखेपछि युक्रेनले त्यो धारणा राखेको हो।

आजोभस्टालस्थित स्टील उद्योगभित्र बसेका सैनिकहरू

तस्बिर : AZOV REGIMENT PRESS SERVICE/REUTERS

 
तस्बिर : आजोभस्टालस्थित स्टील उद्योगभित्र बसेका सैनिकहरूको फाइल तस्बिर
 

के हो आजोभ रेजिमेन्ट?

ट्विटरले रुसी राजदूतावासको ट्वीटले सामाजिक सञ्जाल कम्पनीको घृणासम्बन्धी व्यवहारबारेको नीतिलाई उल्लङ्घन गरेको स्वीकार गरे पनि त्यसलाई मानिसहरूको पहुँचमा रहन दिइरहनु जनहितमा हुन सक्ने टिप्पणी गरेको छ।

मारिऊपोलको दक्षिणपूर्वमा अवस्थित बन्दरगाहमा रहेको आजोभस्टाल नामक स्टील कारखानालाई हप्तौँसम्म सशक्त ढङ्गले प्रतिरक्षा गरेका आजोभ सैनिकहरू गत मे महिनामा हतियार बिसाउन बाध्य भएका थिए। रुसले अन्ततः उक्त कारखानालाई आफ्नो नियन्त्रणमा लिएको थियो।

आजोभ रेजिमेन्ट एउटा राष्ट्रवादी समूह हो र सन् २०१४ मा गठन हुँदा उनीहरूको अतिदक्षिणपन्थीहरूसँग सम्बन्ध रहेको थियो। पछि उनीहरूलाई युक्रेनको न्याश्नल गार्डमा गाभिएको थियो।

रुसले लामो समयदेखि त्यसलाई "नवनाजी" र युद्ध अपराधीहरूको फौज रूपमा चित्रण गर्ने गरेको छ।

गतको फेब्रुअरीमा युक्रेनमा सुरु भएको रुसी सैन्य अतिक्रमणको औचित्य पुष्टि गर्ने प्रयासमा क्रेम्लिनले उक्त रेजिमेन्टविरुद्ध भ्रामक प्रचार गरेको थियो। -  बीबीसीबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार