काठमाडौँ, साउन । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभीसँग सम्बन्धित इन्जिनियरसँग सोधपुछ गरेको जनाएको छ ।
सिंहदरबारमा आइतबार बसेको समितिको बैठकमा अर्थ मन्त्रालयका उच्च अधिकारीसहितका पदाधिकारीसँग सोधपुछ गर्ने तयारी रहेको बताइएको छ
समितिका सचिव सुरेन्द्र अर्यालले आइतबार अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सीसीटीभीसँग सम्बन्धित काम गर्ने आइटी इन्जिनियर र बजेट महाशाखा प्रमुखसँग पनि सोधपुछ गरेको बताए ।
आइतबार नै अर्थ मन्त्रालयका राजश्व सचिव, अर्थसचिवसँग पनि छलफल गर्ने कार्यक्रम रहेको समितिका सचिव अर्यालले सञ्चारकमीर्लाइ जानकारी दिएका छन । शनिबार समितिले मुल गेटदेखिका सीसीटीभीका गतिविधिमा अध्ययन गरेको बताइएको छ ।
‘संसदीय छानबिन समितिको छैटौं बैठक आइतबार पनि बसेको छ । पूर्वअर्थमन्त्रीका विषयमा आवश्यक कागज तथा प्रमाण अर्थ मन्त्रालयसँग माग गरेपछि अर्थ मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीहरूसँग सोधपुछ र जानकारी लिने काम निरन्तर चलिरहेको छ ।
शनिबार पनि भन्सार विभाग र आन्तरिक राजश्व विभागका महानिर्देशकहरू र अर्थ मन्त्रालयमा राजश्व व्यवस्थापन महाशाखाका प्रमुख र उपसचिवहरूसँग सोधपुछ गर्ने काम भयो । आइतबार त्यसैको निरन्तरताको रुपमा अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख र अर्थ मन्त्रालयको सीसीटीभीसँग सम्बन्धित काम गर्ने आईटी इन्जिनियरसँग ८ बजेको बैठकमा छलफल भयो ।
त्यसपछि बजेट महाशाखा प्रमुखसँग पनि छलफल भयो । अब राजश्व सचिवसँग छलफल तथा सोधपुछ गर्ने कार्यक्रम छ । सचिवसँगको सोधपुछपछि अर्थमन्त्रालयका सचिवसँग छलफल गरेर अर्थ मन्त्रालयका पदाधिकारीहरूसँग छलफल सक्ने तयारी छ,’ सचिव अर्यालले बताए ।
सचिव अर्यालका अनुसार आइतबार नै अर्थ मन्त्रालयसँग सम्बिन्धत विषयका प्रमाण र कागजातका लागि आवश्यक सबै अधिकारीहरूसँग छलफल तथा सोधपुछ सकेर समिति अगाडि बढ्ने तयारी गरिएको छ ।