काठमाडौँ, असार । नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको बैठक आज बस्दैछ । बैठक दिउसो १ :०० बजे पार्टी केन्द्रिय कार्यालय सानेपामका बस्देछ । बैठकमा कांग्रेसले दुईवटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने तयारी भएको छ ।
आइतबार बसेको पदाधिकारी बैठकले दुई भ्रातृ र नौ वटा शुभेच्छुक संस्थाहरुलाई मान्यता दिने गरी प्रस्ताव तयार गरेको छ । बैठकमा सहभागी एक नेताका अनुसार भ्रातृ संस्थाकोरुपमा नेपाल थारू संघ र नेपाल आदिवासी जनजाती महासंघले मान्यता पाउने भएका छन् ।
त्यस्तै, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ, नेपाल लोकतान्त्रिक उद्योग व्यापार व्यवसायी संघ, नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ, नेपाल लोकतान्त्रिक आयुर्वेद तथा प्राकृतिक चिकित्सक संघ, नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ र नेपाल लोकतान्त्रिक भाषा साहित्यि लेखक संघलाई शुभेच्छुक संस्थाकोरुपमा मान्यता दिने तयारी भएको जनाइएको छ ।
पदाधिकारीले पास गरेको यो प्रस्ताव सोमबार बस्ने बैठकमा प्रस्तुत गरिने भएको छ । बैठकले भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको विधान स्वीकृत गरी ती संस्थालाई भ्रातृ तथा शुभेच्छुक संस्थाको रुपमा अनुमति प्रदान गर्नेछ ।
१४ औँ महाधिवेशन अगाडि नै मान्यता पाउन आवेदन दिएका यी भ्रातृ तथा शुभेच्छुक संस्थालाई सभापति शेरबहादुर देउवाले महाधिवेशन अघि मान्यता दिन सकेका थिएनन् ।
पार्टीको महाधिवेशनमा भ्रातृ तथा शुभेच्छुक संस्थाबाट महाधिवेशन प्रतिनिधि सहभागी हुन पाउने व्यवस्थाका कारण कांग्रेसमा यस्ता संस्था थप्न नेताहरु लालायित हुने गरेका छन् । अब कांग्रेसका भ्रातृ संस्थाको संख्या १३ बाट बढेर १५ पुग्नेछ छ भने शुभेच्छुक संस्थाको संख्या २७ पुग्नेछ ।