काठमाडौँ, असार । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिहरूलाई अर्थमन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको र त्यो प्रकरणलाई ढाकछोप गर्न अर्थमन्त्रालयको सीसीटीभी फुटेज डिलिट गरी विवादमा आएका अर्थमन्त्री जनार्दन शर्माको विषयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैकमा प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूले छलफल गरेका छैनन् ।
अर्थमन्त्रीका कारण संसद् र सडकमा चर्को विरोध भइरहँदा पनि मन्त्रिपरिषद्मा भने कुरा नउठेको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्दप्रसाद शर्मा कोइरालाले भने, ुअर्थमन्त्रीको विषयमा कुनै कुरा उठेन । त्यो राजनीतिक विषय हो त्यो ।ु
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राजनीतिक रूपमा नै शिर्ष नेताहरूले सल्टाउनुपर्ने विषय भएको बताए । उनले भने, ुयो मन्त्रिपरिषद्मा उठ्ने विषय होइन । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री मोहम्मद इस्तियाक राईले पनि अर्थमन्त्रीबारे मन्त्रिपरिषद्को बैठकमा कनै कुरा नउठेको बताए ।
अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षका लागि बजेटमा करका दर हेरफेर गर्ने क्रममा जेठ १४ गते राति अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिहरूलाई प्रवेश गराएको भन्दै सरकारको पनि आलोचना भइरहेको छ । अर्थमन्त्रीले शर्माले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।
प्रमुख प्रतिपक्षी एमालेसँगै पछिल्लो समय सत्तारुढ दलका सांसदहरूले पनि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने वा उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्नुपर्ने बताउन थालेका छन् । सार्वजनिक रूपमा पनि अर्थमन्त्रीको राजीनामा माग गरिएको छ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्वकुलपति केदारभक्त माथेमा र डा। गोविन्द केसीले सोमाबार मात्रै विज्ञप्ति जारी गरेर अर्थमन्त्रीलाई राजीनामा गर्न माग गरेका थिए ।