२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

युक्रेन युद्ध

रुसमाथि अमेरिकाकाे नयाँ प्रतिबन्ध : ' बाइडन र जेलेन्स्कीका श्रीमतीबीच भेट'

सोमवार , बैशाख २६, २०७९

 

वासिङ्टनले मस्कोमाथि थप प्रतिबन्धको घोषणा गरेकै बेला अमेरिकी राष्ट्रपति जो बाइडनकी पत्नी जील बाइडनले युक्रेनी समकक्षी ओलेना जेलेन्स्कासँग युक्रेनमा भेट गरेकी छन्।

यो उनीहरूबीच भएको पहिलो भेटघाट हो र त्यो युक्रेनको सीमावर्ती शहर उज्होरेडको एक विद्यालयमा भएको थियो। गत फेब्रुअरी २४ मा युक्रेनमा रुसी आक्रमण सुरु भएयता जेलेन्स्का सार्वजनिक रूपमा देखा परेको यो पहिलोपटक हो।

युक्रेनमाथि रुसी आक्रमणको पछिल्लो प्रतिक्रियाका रूपमा अमेरिकाले रुस र बेलारुसका २६ सय नागरिकमाथि भिसा प्रतिबन्धसहित नयाँ रोकहरू लगाएको छ।

अमेरिकाले तीनवटा रुसी टेलिभिजन स्टेसनमाथि पनि प्रतिबन्ध लगाएको छ। उसले रुसी वित्तिय संस्था ग्याजप्रमब्याङ्कका अधिकारीहरुमाथि पनि रोक लगाएको छ।

यसैबीच औद्योगिक राष्ट्रहरूको समूह जी-सेभेनका नेताहरूले रुसी तेललाई चरणबद्ध रूपमा प्रतिबन्ध लगाउन आफूहरू प्रतिबद्ध भएको बताएका छन्।

दुई महिलाबीच भेट

अमेरिकी र युक्रेनी राष्ट्रपतिका पत्नीबीच हाल विस्थापितहरूका लागि अस्थायी आश्रयस्थलका रूपमा प्रयोग भइरहेको विद्यालयमा भेट भएको हो।

त्यहाँ बाइडनपत्नीले आफूले "संयुक्त राज्य अमेरिकाका जनता युक्रेनका जनतासँग उभिएको देखाउन चाहेको" बताइन्।

 

दुई राष्ट्रपतिपत्नीहरू

तस्बिर :  REUTERS

उनले हाल तेस्रो महिनामा चलिरहेको युद्ध "क्रूर" रहेको भन्दै त्यसलाई रोक्नुपर्नेमा जोड दिइन्। जेलेन्स्काले युक्रेन युद्धमा रहेको बेला भ्रमण गर्नु एउटा "साहसी कार्य" भएको बताइन्।

उनले युक्रेन र अमेरिकामा मनाइने 'मदर्स डे' का दिन भएको भ्रमण निकै प्रतीकात्मक रहेको समेत बताएकी छन्। उनले भनिन्, "यस्तो महत्त्वपूर्ण दिनमा हामी तपाईँको माया र समर्थनलाई महसुस गर्छौं।"

दुवै महिलाहरू उक्त विद्यालयमा बसेर हाल त्यहाँ राखिएका दर्जनौँ बालबालिकामध्ये केहीसँग खेलेका थिए।

भिडिओ  : विस्फोटनमा दुवै खुट्टा गुमाएकी नर्स आफ्नो बिहेमा यसरी नाचिन्

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार