काठमाडौं, चैत । अमेरिकी राष्ट्रपति जो बाइडेनले क्रेमलिन (रुस) ले रासायनिक हतियार प्रयोग गरेमा नेटो जवाफ दिन बाध्य हुने चेतावनी दिएका छन् ।
ब्रसेल्समा नेटो र जी- ७ को आपतकालीन शिखर सम्मेलनपछि बोल्दै बाइडेनले यस्तो चेतावनी दिएका हुन् । 'हामी जवाफ दिनेछौं,' बाइडेनले नेटोले के गर्छ भन्ने प्रश्नको जवाफमा भने, 'उस (रुस) ले (रासायनिक हतियार) प्रयोग गर्याे भने, हामी प्रतिक्रिया दिनेछौं ।
प्रतिक्रियाको प्रकृति (रासायनिक हतियार) प्रयोगको प्रकृतिमा निर्भर हुनेछ।' यस्तै अमेरिकाले रुसलाई प्रमुख आर्थिक राष्ट्रहरूको क्लब जी२० बाट बाहिर निकाल्न समेत चाहेको छ ।
यद्यपि इन्डोनेसिया र अरूहरू असहमत भएका कारण यो तत्काल सम्भव नभएको उनले बताएका छन् । शुक्रबार पोल्याण्डको भ्रमणमा रहेका बाइडेनले युक्रेनी शरणार्थी संकटलाई प्रत्यक्ष रूपमा देख्ने भएका छन् ।