२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

युक्रेन-रुस युद्ध

पुटिनले युक्रेनसँग राखे शान्ति सम्झौता प्रस्ताव : " अघि सारे चार माग, प्रस्तावमा के - के छन त ?"

शुक्रवार , चैत्र ४, २०७८

  • जोन सिम्पसन
 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि आफ्ना टर्किश समकक्षीसमक्ष मागहरू अगाडि सारेका छन्।बिहीवार टेलिफोनवार्ताका क्रममा पुटिनले रेजेप तय्यीप एर्दोआनलाई रुसका ठोस मागहरू बताएका हुन्।

दुई राष्ट्रपतिबीच भएको संवादबारे मैले एर्दोआनका एक प्रमुख सल्लाहकार इब्राहिम कालिनसँग कुराकानी गरेको छु। पुटिन र एर्दोआनबीच भएको कुराकानी टर्किश अधिकारीहरूको एउटा सानो समूहले पनि सुनेको थियो जुन समूहमा कालिन पनि थिए।

रुसका मागहरू

उनका अनुसार रुसका मागहरू दुई भागमा बाँडिएका छन्। कालिनले बताएअनुसार शुरूका चारवटा रुसी मागहरू पूरा गर्न युक्रेनलाई धेरै गाह्रो छैन।

तीमध्ये एउटा प्रमुख माग भनेको युक्रेन तटस्थ बस्नुपर्ने र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्यताका लागि अघि बढ्न नहुने रहेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो मागलाई स्वीकारिसकेका छन्।

पहिलो भागका अरू मागहरू धेरैजसो रुसले जितेको जस्तो देखाउने खालका छन्। युक्रेन निरस्त्रीकरणको प्रक्रियामा जानुपर्ने हुन्छ जसले रुसका लागि ऊ खतरा नभएको सुनिश्चित गरोस्।

 

जोन सिम्पसन र इब्राहिम कालिन

इब्राहिम कालिन

 

युक्रेनमा रुसी भाषालाई संरक्षण गर्नुपर्ने र सार्वजनिक जीवनबाट नाजीवादका सबै अवशेष एवम् प्रभावको अन्त्य हुनुपर्ने माग छ।

यो माग चाहिँ जेलेन्स्कीका लागि अपमानजक छ जो आफैँ एक यहुदी हुन् र उनका पनि केही आफन्तहरू यहुदी नरसंहारमा मारिएका थिए।

तर रुसको त्यो माग पनि पूरा गर्न जेलेन्स्कीलाई खासै गाह्रो नहुने टर्कीको विश्वास छ।  नवनाजीवादका सबै स्वरूपको युक्रेनले निन्दा गर्दा पर्याप्त हुनेछ।

 

भिडिओ  :  रुससँग कतिवटा परमाणुअस्त्र छन्?

सम्भावित कठिनाइ

दोस्रो भागका मागको हकमा चाहिँ कठिनाइ देखिन्छ र सहमतिमा पुग्नुअघि पुटिनका अनुसार जेलेन्स्कीसँग उनले साक्षात वार्ता गर्नुपर्ने हुन्छ। जेलेन्स्कीले पनि पुटिनसँग प्रत्यक्ष वार्ता गर्नका लागि आफू तयार रहेको पहिल्यै बताइसकेका छन्।

दोस्रो भागका मागबारे एर्दोआनका सल्लाहकार कालिनले खासै ठोस कुरा गरेनन्। उनले ती मागहरू पूर्वी युक्रेनको डोन्बास क्षेत्रसँग सम्बन्धित रहेको बताए।

त्यसबारे कालिनले विस्तृत त खुलाएनन्। तर युक्रेनले पूर्वी भूभाग छोड्नुपर्ने रुसी माग रहेको अनुमान गरिँदैछ जुन निकै पेचिलो विषय हुनेछ।

अर्को अनुमान अनुसार युक्रेनले क्राइमियालाई रुसकै भूभागको रूपमा मान्यता दियोस् भन्ने रुसको चाहना छ जुन कुरा युक्रेनका लागि साँच्चै फलामको चिउरा चपाए सरह हुनेछ। रुसले सन् २०१४ मा युक्रेनको क्राइमियालाई आफूमा गाभेको थियो।

 

भिडिओ : युक्रेन युद्धः के सर्वसाधारण नागरिकले कहिलेकाहीँ फौजलाई रोक्न सक्छन्?

युक्रेनको दाबी

युक्रेनका रक्षामन्त्रीले अहिलेसम्म युक्रेनमा आक्रमण गर्न आएका झन्डै १४,२०० रुसी सैनिकको मृत्यु भएको दाबी गरेका छन्।

दुवै सेनामा भएको मानवीय क्षतिको विवरण पुष्टि गर्न निकै कठिन छ। किनभने रुस र युक्रेन दुवैले निकै फरक सङ्ख्या बताउने गरेका छन्। मार्च ३ मा रुसले आफ्ना ४९८ सैनिकको मृत्यु भएको जनाएको थियो। तर त्यसपछि रुसले हताहत हुने सैनिकको तथ्याङ्कबारे रुस मौन छ।

अमेरिकी अधिकारीले झन्डै ७,००० रुसी सैनिकको मृत्यु भएको हुनसक्ने बिहीवार बताएका थिए। उनीहरूका अनुसार घाइते हुने रुसी सैनिकको सङ्ख्या १४,००० जति हुनसक्छ।

युक्रेनले रुसी पक्षमा आफूले पुर्‍याएको क्षतिको विवरणमा यस्तो दाबी गरेको छः

  • ४५० वटा ट्याङ्क ध्वस्त
  • ९३ वटा विमान ध्वस्त
  • ११२ हेलिकप्टर ध्वस्त
  • ४३ वटा विमानभेदक प्रणाली बिगारिएको

बीबीसीले यी कुनै दाबी पनि स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

बीबीसी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार