२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

युक्रेन-रुस युद्ध

रुसी फौज युक्रेनकाे किएभतर्फ : "रुसी आक्रमण तीब्र, सेना राजधानीबाट ५ किलेमिटर नजिक"

शुक्रवार , फाल्गुण २७, २०७८

रुसी फौजको एउटा लस्कर किएभनजिक पुनः तैनाथ भइरहेको भूउपग्रह तस्वीरबाट देखिएको छ। त्यसलाई युक्रेनी राजधानीतर्फ बढ्ने रुसी फौजको ताजा प्रयासको रूपमा हेरिएको छ।

म्याक्सआर टेक्नोलोजिजका अनुसार आसपास नगरका तैनाथी क्षेत्रतर्फ रुसी लस्कर बढेको छ। त्यो लस्कर यसअघि एन्टोनोभ विमानस्थलनजिक पश्चिमोत्तर क्षेत्रमा देखिएको थियो।

 

फौज

युक्रेनद्वारा रुसमाथि ‘पारमाणविक आतङ्कवाद’को आरोप

परमाणु केन्द्र

रुसी सेनाले आफ्नो पारमाणविक अनुसन्धान केन्द्रमा बम हमला गरेको भन्दै युक्रेनले मस्कोमाथि ‘पारमाणविक आतङ्कवाद’को आरोप लगाएको छ।

युक्रेनको राज्य स्तरीय पारमाणविक नियामक निकायका अनुसार पूर्वोत्तर सहर खार्किभमा रहेको उक्त अनुसन्धान केन्द्रमा बिहीवार अबेर भएको गोलाबारीका क्रममा विद्युतीय आपूर्ति रोकिएको छ। घटनामा कुनै मानवीय क्षति भएकोबारे विवरण आएको छैन।

रुसले भने हालसम्म यस विषयमा प्रतिक्रिया जनाएको छैन। मार्च ३ मा दक्षिण-पूर्वी युक्रेनमा रहेको जापोरिज्या परमाणु ऊर्जा केन्द्रको एउटा भवनमा रुसले अस्त्रको प्रयोग गरी आगो लगायो र लगत्तै कब्जा गर्‍यो।

बिहीवार पनि संयुक्त राष्ट्रको परमाणुसम्बन्धी नियामक संस्था आइएईएले युक्रेनी अधिकारीहरूले उनीहरूलाई रुसी सेनाले कब्जा गरेको युक्रेनको अर्को परमाणु केन्द्र चर्नोबलसँग पूर्ण रूपमा सञ्चार विच्छेद भएको बताएको जनाएको छ।

सन् १९८६ मा उत्तरी युक्रेनको चर्नोबलमा संसारको सबैभन्दा भयानक पारमाणविक दुर्घटना भएको थियो।

 

मानवीय निकास मार्ग दिन्छौँ: रुस

युक्रेन

क्रेम्लिनले युक्रेनबाट रुसतर्फ प्रवेश गर्न चाहने मानिसहरूलाई निकासमार्ग दिने बताएको छ। रुसी रक्षा मन्त्रालले रुसका सञ्चारमाध्यमहरूलाई शुक्रवारबाट त्यस्तो मार्ग खुला गरिने बताएको छ।

युक्रेनले पहिले रुसले गरेको यस्तै प्रस्तावलाई अस्वीकार गरेको थियो। उसले त्यस्तो प्रस्तावलाई अस्वीकार्य र निन्दनीय भनेको थियो।

त्यस्तै अमेरिकाले पनि उक्त प्रस्तावलाई हास्यास्पद भनेको थियो। संयुक्त राष्ट्रसङ्घले हालसम्म २३ लाख मानिसले युक्रेन छाडिसकेको बताएको छ।

 

रुसले अस्थायी युद्धविराम उल्लङ्घन गर्‍यो: युक्रेन

युद्धले प्रभावित मानिसहरू

युक्रेनी सरकारले रुसी सेनाले पुनः अस्थायी युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाउँदै बिहीवार रुसी मारिओपोलबाट एक जना पनि नागरिक बाहिर निस्कन नसकेको बताएको छ।

राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका अनुसार सहरमा खाना, पानी र औषधि पुर्‍याउने प्रयास असफल भएको छ। उनले त्यहाँ निराशाजनक अवस्था उत्पन्न भएको बताए।

उनका दाबीमा रुसी फौजले मानवीय सहायताकर्मीहरूको टोलीलाई पनि निसानामा पारेका छन्। सहायता निकायहरूले उक्त सहरका बासिन्दाले गम्भीर सङ्कटको सामना गरिरहेको बताएका छन्।

मारिओपोलको अवस्थाबारे एकजना युक्रेनी सांसदले भने- “मैले हाल मारिओपोलमा रहेकी मेरी बहिनीसँग मैले एक मिनट जति कुराकानी गरेको थिएँ। त्यहाँ मोबाइल सम्पर्कमा समस्या छ। खानेपानीको र खानेकुराको अभाव छ।”

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार