काठमाडौँ,फागुन। युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुदमा आगामी दिनमा धेरै पदक प्राप्त गर्न आवधिक कार्ययोजना बनाएर काम गर्ने भएको छ ।
नेपालले हालसम्म प्राप्त गरेका पदकका आधारमा सम्भावित खेल विधाबाट कहिलेसम्म पदक प्राप्त गर्ने ठोस लक्ष्य निर्धारणसहित मन्त्रालयले कार्ययोजनाको तयारी गरेको छ । मन्त्रालयका सचिव डा दामोदर रेग्मीले कुन खेलबाट कहिलेसम्म पदक हासिल गर्न सकिन्छ त्यसको स्तरण निर्धारणसहित आवधिक कार्ययोजना ल्याइने बताउनुभयो ।
नेपालले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिएको लगभग छ दशक भइसकेको छ । नेपालले सन् १९५१ देखि एशियाली, सन् १९६४ देखि ओलम्पिक र सन् १९८४ देखि दक्षिण एशियाली खेलकुद प्रतियोगितामा भाग लिँदै आएको छ ।
अन्तर्राष्टिय प्रतियोगितामा नेपालले आजसम्म ओलम्पिक प्रतियोगितामा १३, एशियाली खेलकुदमा १८ र दक्षिण एशियाली खेलकुद (साग)मा १३ पटक सहभागी भई २०८ वटा पदक प्राप्त गरेको छ । एशियाली गेम्समा नेपालले बक्सिङ, तेक्वान्दो, कराते, प्याराग्लाइडिङमा रजत र कास्य गरी २४ पदक प्राप्त गरेको तथ्याङले देखाएको छ । राष्ट्रिय खेलकुद परिषद्का अनुसार विसं २०७७ सम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीको सङ्ख्या एक हजार ८६० छ । सचिव रेग्मीका अनुसार अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितमा नेपालले पदक प्राप्त गरेका खेल विधा करिब ३० छन् ।