सिड्नी, माघ । अष्ट्रेलियाले विदेशबाट आउने पर्यटकहरुका लागि सिमा नाका फेरि खुल्ला गर्ने भएको छ । यही फेब्रुअरी २१ देखि विदेशबाट आउने पर्यटकहरुलाई पनि स्वदेश प्रवेश गर्न दिने निर्णय भएको प्रधानमन्त्री स्कट मोरिसनले सोमबार जानकारी दिनुभएको छ ।
कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि पर्यटकहरुलाई प्रवेश निषेध गर्दै आएको अष्ट्रेलियाले प्रतिवन्धात्मक व्यवस्था खुकुलो बनाउदै लगेको हो । अष्ट्रेलिया कोरोना महामारीबाट धेरै प्रभावित भएको र लामो समय विभिन्न प्रतिवन्धात्मक व्यवस्थाहरु लागु गरेको देशमा पर्दछ ।
झण्डै दुईबर्षपछि विदेशबाट आउने पर्यटकलाई प्रवेश दिने निर्णय भएको हो, प्रधानमन्त्री मोरिसनले भन्नुभयो । राष्ट्रिय सुरक्षा सम्वन्धी बैठकपछि प्रधानमन्त्री मोरिसनले सवै प्रकारका प्रवेश आज्ञा पाएकाहरुलाई अष्ट्रेलिया आउन दिने निर्णय भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, यदी तपाईहरु कम्तीमा दुई पटक खोप लगाएको व्यक्ति हुनुहुन्छ भने हामी तपाईलाई अष्ट्रेलिया आउन आमन्त्रण गर्दछौं ।
प्रधानमन्त्री मोरिसनले कोरोनाभाइरसको महामारी थप फैलिन नदिने उद्धेश्यले सान् २०२० को मार्चदेखि विदेशबाट पर्यटकहरु आउन नदिने निर्णय गरिएको बताउनुभयो ।
त्यसपछि निरन्तर कोरोनाभाइरस विरुद्ध लडिरहनु परेकाले अहिलेसम्म पर्यटकहरुका लागि खुल्ला गर्न नसकिएको उहाँले स्पष्ट पार्नुभयो । रासस एएफपी