उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण गरेको ठानिएको छ। स्थानीय समाचारअनुसार आइतवार बिहान ७:५२ बजे उत्तर कोरियाको पूर्वी तटबाट उक्त क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ।
बीबीसीका अनुसार, जापान, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले उक्त परीक्षणको निन्दा गरेका छन्। यो महिनामा प्योङ्याङले प्रहार गरेको सातौँ क्षेप्यास्त्र हो। तर उत्तर कोरियाले प्रतिबन्ध उल्लङ्घन गर्दै आएको छ।
उत्तर कोरियाका नेता किम जङ-अनले आफ्नो देशको प्रतिरक्षा प्रणाली सुदृढ बनाउने वाचा गरेका छन्।
संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई बलिस्टिक क्षेप्यास्त्र र पारमाणविक अस्त्र परीक्षण गर्न रोक लगाएको छ तथा कडा प्रतिबन्धहरू लगाएको छ।
भिडिओ क्याप्शन सुरु हुँदैछ,
लडाकु विमान चढेर आकाशबाट उत्तर कोरियालाई हेर्दा
यो कस्तो क्षेप्यास्त्र हो?
दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्का अनुसार आइतवार परीक्षण गरिएको क्षेप्यास्त्र मध्यम दूरीको बलिस्टिक क्षेप्यास्त्र (आईआरबीएम) हो। सन् २०१७ को नोभेम्बरपछि परीक्षण गरिएको यो सबैभन्दा ठूलो क्षेप्यास्त्र हो।
जापानी र दक्षिण कोरियाली अधिकारीहरूले उक्त क्षेप्यास्त्र आकाशमा २,००० किलोमिटरको उचाइमा र ३० मिनेट उडेर ८०० किलोमिटर पर पुगेको बताएका छन्। उक्त क्षेप्यास्त्र जापान सागरमा झरेको थियो।
अमेरिकाले उक्त परीक्षणले संयुक्त राष्ट्रसङ्घको प्रतिबद्धता उल्लङ्घन गरेको भन्दै उत्तर कोरियालाई उत्तेजनापूर्ण काम नगर्न तथा वार्तामा सहभागी हुन आग्रह गरेको छ।