२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

वीरगञ्ज  : 'उपचाररत दुईजना कोरोना सङ्क्रमितको मृत्यु '

शनिवार , माघ १५, २०७८


वीरगञ्ज, माघ  । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहका अनुसार वीरगञ्ज महानगरपालिका–३ निवासी ७३ वर्षीय वृद्ध पुरुष र बारा जिल्लाको कलैया उपमहानगरपालिका–५ की ६५ वर्षीया वृद्ध महिला गरी दुईजना सङ्क्रमितको उपचारको क्रममा शनिबार मृत्यु भएको हो । 
मुटु रोगका दीर्घ बिरामी वृद्ध पुरुषको स्वास्थ्य अवस्था जटिल भएपछि शुक्रबार अस्पतालमा भर्ना गरिएको थियो भने शुक्रबार एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । आईसीयू कक्षमा भर्ना गरेर भेन्टिलेटरमा उपचाररत उहाँको शनिबार बिहान साढे ४ः०० बजे मृत्यु भएको अस्पतालका डा. सिंहले बताएका छन । 
यस्तै, शुक्रबार स्वास्थ्यमा समस्या आएपछि अस्पतालमा भर्ना भएकी महिलाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । मृतक दुवैै जनाले कोभिडविरुद्धको दुई मात्रा खोप लगाएको उनले  जानकारी दिए ।   योसँगै कोरोनाको तेस्रो लहर सुरु भएयता वीरगञ्जमा मृत्यु हुने कोरोनाका सङ्क्रमितको सङ्ख्या छ पुगेको छ । 
यसअघि माघ ६ गते नारायणी अस्पतालमा बाराको महागढीमाई नगरपालिका–६ का ५० वर्षीय पुरुष, ८ गते वीरगञ्ज मेट्रोसिटी हस्पिटलमा बाराको विश्रामपुर गाउँपालिका–४, बतराकी २० वर्षीया युवती, ११ गते बाराकै कोल्हबी नगरपालिका–३ का ६० वर्षीय पुरुष र १४ गते वीरगञ्ज महानगरपालिका–२७ की ६५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । कोरोनाको पहिलो लहरका बेला वीरगञ्जमा ८६ जना र दोस्रो लहरका बेला ३४१ जना सङ्क्रमितको मृत्यु भएको थियो । 
डा. सिंहका अनुसार हाल नारायणी अस्पतालमा १२ जना कोरोना सङ्क्रमितको आईसीयूमा राखेर उपचार भइरहेको छ । उपचाररतमध्ये छ जनालाई अक्सिजन दिएको र त्यसमध्ये तीन जनाको अवस्था जटिल रहेको उनले जानकारी दिए । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार