२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मैत्रीपूर्ण फुटबल खेल : 'विमलकाे गाेलमा मरिससमाथि नेपाल विजयी'

शनिवार , माघ १५, २०७८

काठमाडौं, माघ । विमल घर्ती मगरले गरेकाे एक मात्र गाेलमा नेपालले पहिलाे मैत्रीपूर्ण खेलमा माेरिससलाई १-० ले पराजित गरेकाे छ । शनिबार दशरथ रंगशालामा भएकाे खेलमा विमलले ५५ औं मिनेटमा अन्जन विष्टकाे पासमा गाेल गरे ।

२६ महिनापछि राष्ट्रिय टिममा फर्केका विमलले पुनरागमन गरेको पहिलो खेलमै गोल गरेका हुन् । सन् २०१९ नाेभेम्बरमा म्यानमार विरुद्ध पछिल्लाे पटक राष्ट्रिय टिममा खेलेका विमल प्रतिवन्ध र चाेटका कारण दुई वर्ष राष्ट्रिय टिम बाहिर थिए ।

मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले विमललाई यस पटक टिममा राख्दै पहिलाे राेजाईमा अवसर दिए । उनले पनि घरेलु दर्शकलाई निराश पारेनन् । उनी शनिबारको खेलको म्यान अफ दि म्याच हुँदै २५ हजार रुपैयाँ पुरस्कार पनि पाए । नेपालका लागि विमलकाे याे नवाैँ गाेल हाे ।

यसअघि उनले सन् २०१८ मा ढाकामा बंगलादेश विरुद्ध साफ च्याम्पियनसिपमा पछिल्लाे पटक गाेल गरेका थिए । यस्तै यसै खेलबाट डिफेण्डर देवेन्द्र तामाङ र जगजित श्रेष्ठले पनि राष्ट्रिय टिममा कमब्याक गरे । देवेन्द्रले पहिलाे राेजाईमा खेल्दा जगजित दाेस्राे हाफमा मैदान प्रवेश गरेका थिए ।

शनिबारको खेलमा मिडफिल्डर सुदीप गुरुङ र आकाश बुढमगरले डेब्यू गरेका छन् । पहिलाे हाफमा नेपालले गाेल गर्ने केही अवसर बनाए पनि सदुपयाेग गर्न सकेन । पहिलाे हाफमा सुमन लामाले पेनाल्टी बक्स बाहिरबाट हानेकाे दुई प्रहार पाेष्ट माथिबाट बाहिरियाे । यस्तै अन्जन विष्टले दुई अवसर सदुपयाेग गर्न सकेनन् ।

यसैगरी सुनिल बलकाे फ्रिकिक डिफ्लेक्ट हुँदै बाहिरिएकाे थियाे । नेपालले दाेस्राे हाफमा थप दुई गाेल गर्ने अवसर गुमाएकाे थियाे । अञ्जन विष्टको हेडर बारमा लागेर फर्किँदा जगजित श्रेष्ठकाे हेडर माेरिससका गाेलकिपर कप्तान केभिनले बचाए । नेपाल र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार