२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

गाईघाट : 'सिटामोलको चरम अभाव'

मंगलवार , माघ ११, २०७८


गाईघाट, माघ  । सामान्य ज्वरो आउँदा र टाउको दुखेको समयमा प्रयोग गरिने औषधि पारासिटामोलको बजारमा चरम अभाव भएको छ । औषधि उत्पादक कम्पनीले सहज रुपमा आपूर्ति नगरेका कारण स्थानीय मेडिकल सेन्टरहरुमा पारासिटामोलको चरम अभाव भएको हो ।
रुघा, खोकी र ज्वरोका विरामीहरुको चाप थामिनसक्नुको भएको र सोही कारण सिटामोलको माग पनि अत्याधिक बढेको तर आपूर्ति शून्य भएपछि बजारमा सिटामोलको अभाव भएको नेपाल औषधि व्यवसायी संघ संयुक्त जिल्ला शाखा उदयपुरका अध्यक्ष उद्धव दाहालले बताएका छन । 
तर नेपाल औषधि व्यवसायी संघ प्रदेश १ का अध्यक्ष कुमार खतिवडाले भने सरकारले सिटामोलको मूल्य समायोजन नगरेपछि उत्पादक कम्पनीले आपूर्तिमा कटौती गरेको बताए ।  
औषधि व्यवस्था विभागले प्रति ट्याब्लेट एक रुपियाँभन्दा बढी मूल्यमा विक्री गर्न दिंदैन जुन मूल्यले आवश्यक कच्चा पदार्थ नै किन्न पुग्दैन भन्ने उद्योगीहरुको भनाई रहेको खतिवडाले बताएका छन । 
बजारमा अन्य उपभोग्य सबै वस्तुको मूल्य बढिरहेको तर सिटामोलको मूल्य भने दशकौंदेखि एउटै कायम रहिरहदा औषधि उत्पादनमा जनशक्तिदेखि कच्चा पदार्थसम्मको खर्च बढेकोले लागत मूल्य र बिक्री मूल्यका बीचमा असन्तुलन भएपछि उपभोक्ताको माग अनुसार बजारमा आपूर्ति हुन नसकेको खतिवडाको भनाई छ । 
सिटामोल अभावको सर्वत्र चर्चा चलिरहेको बेला औषधि व्यवस्था विभाग बिराटनगरका प्रमुख सञ्जिव कटेलले केही दिनभित्रै आपूर्ति सहज हुने बताएका छन । 
कोरोना महामारीको यो सङ्कटको घडीमा सिटामोलको खपत अत्यधिक हुने देखेर धमिलो पानीमा माछा मार्ने भनेझैं औषधि उत्पादकले कच्चा पदार्थको भाउ बढेको वहाना बनाएर मूल्य झण्डै दोब्बर बनाउन माग गरेपछि बजारमा सिटामोलको अभाव देखिएको औषधी व्यवसायीको भनाई छ । 
सरकारले कोरोना महामारीको समयमा मूल्य बढाउन नसक्ने बताएपछि थुप्रै कम्पनीले उत्पादन नै रोकेकाले सिटामोल अभाव भएको हो । सरकारले २०६४ सालमा पारासिटामोल अधिकतम मूल्य प्रतिगोटा एक रुपियाँ निर्धारण गरेको थियो । 
त्यसपछि हालसम्म १४ वर्ष बितिसक्दा पनि मूल्य समायोजन भएको छैन । मूल्य समायोजन सरकारको माथिल्लो निकायबाट हुने भएकाले त्यसबारे आपूmले केही बोल्न नमिल्ने गाईघाटका औषधी ब्यावसायी बिजय साहले बताएका छन । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार