वीरगञ्ज, माघ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मङ्गलबार बिहान मृत्युभएको छ । नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहका अनुसार सोमबार अस्पताल भर्ना भएर उपचार गराइरहेका ६० वर्षीय वृद्धको मङ्गलबार बिहान ४ः४५ बजे मृत्यु भएको हो ।
बारा जिल्ला कोल्भी नगरपालिका–३ निवासी वृद्धलाई कडा खालको निमोनिया देखिएको र उहाँले कोभिडको खोप पनि नलगाइएको पाइएको डा. सिंहले जानकारी दिएका छन । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि वीरगञ्जको नारायणी अस्पतालमा ल्याइएका ती वृद्धलाई एन्टिजेन परीक्षण गर्दा सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोनाको तेस्रो लहरअन्तर्गत पर्सामा भएको यो तेस्रो मृत्यु रहेको डा. सिंहले जानकारी दिएका छन ।
सोमबार नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा ४२ वटा नमुना परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेमा पर्साका १२ जना, बाराका सात जना रौतहटका तीनजना र सर्लाहीका एकजना रहेका छन् । सङ्क्रमण पुष्टि हुनेमा १५ जना पुरुष र आठ जना महिला रहेको डा. सिंहले बताएका छन ।