जनकपुर, माघ । पछिल्लो समय मधेस प्रदेशमा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । प्रदेश अन्तर्गत सिरहा जिल्लाको गोलबजार नगरपालिका–९ निवासी ८० वर्षीय पुरुष र बारा जिल्लाको बतरा ४ निवासी २० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको मधेस प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाले जनाएको छ ।
सिरहाको वृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारका क्रममा शुक्रबार मृत्यु भएको स्वास्थ्य निर्देशक विजयकुमार झाले जानकारी दिएका छन । गत ५ गते प्रतिष्ठानमा भर्ना भएका वृद्धको सोही दिन अस्पतालले स्वाब सङ्कलन गरी ७ गते आएको पीसीआर रिपोर्टमा पोजेटिभ भेटिएको उनले जानकारी दिए ।
त्यसैगरी, बतराकी ती महिला पनि ५ गते वीरगञ्जस्थित वीरगञ्ज सिटी अस्पतालमा भर्ना भएको दिन एन्टिजेन परीक्षण गर्दा पोजेटिभ भेटिएको थियो । मृतक दुवै जनाले कोरोनविरुद्धको कुनै पनि खोप नलगाएको स्वास्थ्य निर्देशक झाले जानकारी दिएका छन ।
प्रदेशमा पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३१ जनाको प्रयोगशाला परीक्षण गर्दा ४९ जना र एक जनाको एन्टिजेन परीक्षण गर्दा एक जना गरी ५० जनामा कोरोना सङ्क्रण देखिएको उनले बताएका छन ।
पछिल्लो २४ घण्टामा प्रदेशको सप्तरीमा १८०, सिरहामा १२२, धनुषामा ३८९, महोत्तरीमा १२०, सर्लाहीमा ११५, रौतहटमा ६४, बारामा ११७ र पर्सामा ३०८ गरी कुल १४२८ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य निर्देशनालय सपही धनुषाले जनाएको छ । सङ्क्रमितमध्ये पर्साका नौ जनाको आईसीयू, सप्तरीका दुई र सिरहाका दुई जनाको एचडीयू कक्षमा उपचार भइरहेको छ ।