सप्तरी, माघ । प्रदेशकै ठूलो तीन सय बेड क्षमता भएको साइकृष्ण आइसोलेसन सेन्टर पुनः सञ्चालनका लागि पहल भइरहेको छ । कोरोनाको पहिलो लहरबाट नागरिकलाई जोगाउन प्रदेश सरकारको आर्थिक सहयोग तथा नेपाली सेनाको अगुवाइमा राजविराजमा सञ्चालन भएको थियो ।
आइसोलेसन सेन्टर पुनः सञ्चालनका लागि आइतबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल प्रमुखसहितको टोलीद्वारा साइकृष्ण सेन्टरको वर्तमान भौतिक संरचनाको स्थलगत निरीक्षण गरिएको छ ।
निरीक्षणको क्रममा एक वर्षदेखि गजेन्द्रनारायण सिंह अस्पतालको मातहतमा रहेको सो आइसोलेसन सेन्टरको सुरक्षा व्यवस्था नहुँदा विद्युतीय सामान, उपचार उपकरणलगायतका सामान चोरी भएको र भौतिक संरचना जीर्ण बनेको देखिएको छ ।
कोरोना तेस्रो लहरसँगै सङ्क्रमणको दर तीव्र रूपमा फैलिरहँदा पनि जिल्लामा राजनैतिक बैठक, चुनावी क्रियाकलाप जारी छ । जिल्लाभरिको हाट बजारमा पहिलेकै अवस्थामा सर्वसाधारणको भीडभाड अत्यधिक देखिन्छ ।
स्थानीय तह र बैङ्कमा मानिसको चाप उस्तै छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको खतरा रहे पनि स्थानीय तहमा भने सतर्कताको अभाव देखिएको छ । यसर्थ तेस्रो लहर व्यवस्थापनका निम्ति यो आइसोलेसन सेन्टर सञ्चालनको विकल्प छैन, प्रमुख जिल्ला अधिकारी गौतमले बताएका छन ।
आइसोलेसन सेन्टर पुनः सञ्चालन गर्न सक्यौँ भने कोरोना सङ्क्रमितको उपचारमा सहज हुने गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट दिलीप साहले बताए । योसँगै यो सेन्टरको सुरक्षाको पाटोमा सहकार्यका लागि नेपाली सेना हरसमय तम्तयार रहेको नेपाली सेना भिमदल गण भलुवाही व्यारेकका प्रमुख गणपति निरज भण्डारीले बताएका छन । कोरोनाको पहिलो लहरमा प्रदेश सरकारको अग्रसरतामा यो आइसोलेसन सेन्टर सञ्चालनको सम्पूर्ण जिम्मेवारी नेपाली सेनालाई दिइयो । एक वर्षसम्म कुशल व्यवस्थापन पनि हामीले गर्यौं, उनले भने ।
हाल यस जिल्लामा दुई सयभन्दा बढी कोरोना सङ्क्रमित रहेका छन् । एक जना सक्रिय सङ्क्रमितसँगै एचडीयूमा चार जना र बाँकी होम आइसोलेसनमा रहेको गजेन्द्रनारायण सिंह अस्पताल कोरोना एचडीयू वार्डका इन्चार्ज धनेश्वर साहले जानकारी दिएका छन ।