२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

उदयपुर : 'अस्पतालमा आउने सङ्क्रमित बढ्दै'

शनिवार , माघ ८, २०७८


उदयपुर, माघ । उदयपुर कोरोना अस्पताल सञ्चालनमा आएसँगै संक्रमित भर्ना हुने क्रम बढेको छ । जिल्लाको चार नगरपालिका र चार गाउँपालिका गरी आठै स्थानीय तहलाई लक्षित गरी चौदण्डीगढी–६ बेल्टारमा निर्माण गरिएको जिल्लाको एकमात्र कोरोना अस्पतालमा सङ्क्रमित भर्ना संख्या बढेको हो । 
अस्पताल ब्यवस्थापन समितिका सदस्य सचिव तेजबहादुर पोखरेलका अनुसार अस्पताल सञ्चालन भएको छ दिनमा नै १४ जना सङ्क्रमित भर्ना भएका छन् । उनीहरु सबैको अहिले सामान्य अवस्था रहेको छ । सामान्य खोकी, थकान, छाती दुखाइ हुने लक्षण उनीहरुको छ । 
उदयपुरमा दैनिकजसो सङ्क्रमण बढ्दो छ । संक्रमण समुदायमै फैलिएपछि अस्पताल सञ्चालनमा ल्याएको हो । सो अस्पतालमा ५० शय्या सञ्चालनको अवस्थामा रहेको जनाइएको छ । अस्पतालमा दैनिकजसो एन्टिजेन परिक्षण पनि भइरहेको छ । बिहीबार १५ जनाको परीक्षणमा १० जना सङ्क्रमित फेला परेका थिए । 
उदयपुर विकास बोर्डको अगुवाईमा जिल्लाको आठै पालिकाको साझा लगानी तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरुको सहयोगबाट साढे तीन करोड रुपियाँ लगानीमा निर्मित अस्पताल पुरानै अवस्थामा सञ्चालन गरिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बताएका छन ।  
चौदण्डीगढी नगर अस्पतालका डा. नन्दनकुमार साहको नेतृत्वको चिकित्सक टोलीले सङ्क्रमितको स्वास्थ्य उपचार तथा रेखदेख गरिरहेको छ । 
पहिलो र दोस्रो लहरमा करिव सात सयजना सङ्क्रमितलाई उपचार दिएको सो अस्पतालमा हाल पनि संक्रमितलाई राम्रो हेरचाह तथा उपचारको ब्यवस्था मिलाएको सञ्चालक समितिको दावी छ ।  सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलका अनुसार परीक्षणबाट दिनदिनै सङ्क्रमितको संख्या बढ्दो देखिएको छ । 
स्वास्थ्य कार्यालय उदयपुरका अनुसार हालसम्म उदयपुरमा सङ्क्रमितको संख्या २१४ पुगेको छ । सङ्क्रमितहरुमध्ये उदयपुर अस्पतालमा ९०, त्रियुगा नपामा ५२, कटारी नपामा ३२, बेलका नपामा २३ र चौदण्डीगढी नपामा १६ जना रहेका छन् ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार