२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोभिड–१९ : कहर

स्वास्थ्य मन्त्रालयले भन्यो : 'ओमिक्रोन भेरियन्ट समुदायमा पुगिसक्यो' 

शुक्रवार , पौष २३, २०७८

काठमाडौं, पुस । थप २४ जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरेको सबै २४ जनामा ओमिक्रोन पुष्टि भएको हो ।

झट्ट सुन्दा यसअघि ३ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो, २४ थपिँदा २७ भयो भन्ने लाग्नसक्छ । तर स्वास्थ्य मन्त्रालयले शुक्रबार ओमिक्रोन भेरियन्ट समुदायमा पुगिसकेको प्रष्ट संकेत गरेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

मन्त्रालयको विज्ञप्ति अनुसार र्‍याण्डम स्याम्पलिङ विधिबाट पुस महिनामा कोरोना पोजेटिभ आएका १ हजार १४६ नमुना संकलन गरिएको थियो । त्यसको एसजिन स्क्रिनिङ गर्दा २५० वटा अर्थात २२ प्रतिशत नमुनामा एसजिन नेगेटिभ आयो । 
एसजिन नेगेटिभ आएका २५० मध्ये २४ नमुनाको जिन सिक्वेन्सिङ गरिएको थियो, सबै नमुनामा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको छ ।

एसजिन नेगेटिभ आएका बाँकी २२६ नमुनामा पनि ओमिक्रोन भेरियन्ट छ । किनकी एसजिन नेगेटिभ आउने अल्फा भेरियन्ट नेपालमा सक्रिय छैन र पछिल्लो दुई महिनामा एसजिन नेगेटिभ आएका सबै २७ वटा नमुनामै ओमिक्रोन भेटिएको छ । यसरी हेर्दा दैनिक पहिचान भएका संक्रमितमध्ये चार भागको एक भागमा ओमिक्रोन भेरियन्ट छ भनेर सहजै अनुमान गर्न सकिन्छ ।

यसले समुदायमा ओमिक्रोन भेरियन्ट पुगिसकेको बुझाउने जनस्वास्थ्य विज्ञको भनाई छ ।  संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले सञ्चारकर्मीसँग भने,   ‘संक्रमण पुष्टि भएको चारभाग मध्ये झण्डै एक भाग संक्रमितमा ओमिक्रोनको संक्रमण देखिएको छ । यो तथ्यांकले समुदायमा संक्रमण फैलिसकेको देखाउँछ ।’

सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला पनि  अब संक्रमण अझ बढ्नसक्ने बताउँछन । ‘अबको केही हप्तामा ओमिक्रोनका संक्रमितको संख्या बढ्दै जान्छ,’ डा. बाँस्तोलाले भने, ‘एक महिना भित्रमा डेल्टा भेरियन्टको ठाँउ ओमिक्रोनले लिन्छ ।’

ओमिक्रोन भेरियन्टको विशेषता नै नेपालमा दोस्रो लहर ल्याएको डेल्टाभन्दा पनि तीव्र गतिमा फैलिने हो । तर ओमिक्रोन फैलावटले व्यापकता पाउँदै गर्दा परीक्षण अत्यन्तै कम भएको संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीको भनाई छ ।  ‘ओमिक्रोन भेरियन्ट पुष्टि गर्नका लागि काठमाडौंमा ल्याउनुपर्ने बाध्यता छ,’ डा. अधिकारी भन्छन्, ‘आज लिएको नमुनाको एक महिनापछि रिर्पोट निस्किन्छ । नतिजा आउँदासम्म एक व्यक्तिले धेरैलाई संक्रमण सारिसकेको हुन्छ ।’
त्यसैले ओमिक्रोन फैलावट कम गर्न जनस्वास्थ्यका मापदण्डको कडाइका साथ पालनासँगै परीक्षण विस्तार र खोपको पहुँज बढाउनुपर्ने विज्ञहरु बताउँछन् ।
संक्रमितको पहिचान गरेर आइसोलेटेड नगर्ने हो भने महामारी नियन्त्रण गर्न नसकिने डा. बाँस्तोला बताउँछन् । ‘संक्रमणको ग्राफ बढिरहेको बेला परीक्षणको दायारा बढाउनुपर्छ । संक्रमित पहिचान गरेर आइसोलेसन गर्न सकियो भने संक्रमण सार्ने सम्भावना कम हुन्छ,’ डा. बाँस्तोला भन्छन्, ‘हाम्रो रणनीति क्वारेन्टाइन तथा संक्रमित पहिचान भएका आइसोलेसन र खोपको पहुँज बढाउनुपर्छ ।’

डा. अधिकारी पनि तेस्रो लहर रोक्न समय कम भएकाले संक्रमणको स्रोत पहिचान गनुपर्ने र कन्ट्याक्ट ट्रेसिङको परेका सबैलाई परीक्षण गनुपर्ने बताउँछन् । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार कुल जनसंख्याको ३५ दशमलव ९ पूर्ण खोप लगाएका छन् भने थप १२.६ प्रतिशत नागरिकले एक मात्रा खोप लगाएका छन् ।

हेर्नुहोस् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तिः

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार