२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

विश्व स्वास्थ्य संगठनले भन्याे : ' ओमिक्रोनलाई ‘कम घातक’ नभनौँ '

शुक्रवार , पौष २३, २०७८

काठमाडौँ, पुस । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ओमिक्रोन भेरियन्टलाई कम घातक भनेकोमा चेतावनी दिँदै यसले विश्वभर मानिसहरूको ज्यान लिइरहेको बारेमा सचेत गराएको छ ।

पछिल्ला अध्ययनमा ओमिक्रोनले पछिल्ला भेरियन्टको तुलनामा मानिसहरूलाई गम्भीर नबनाउने देखाएको छ । तर, यसबाट रेकर्ड सङ्ख्यामा मानिस सङ्क्रमित भइरहेका कारण स्वास्थ्य व्यवस्थामा चाप बढाएको डब्लूएअचओका प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले भनेका छन् ।

अमेरिकामा २४ घण्टाको अन्तरमा १० लाखभन्दा बढी सङ्क्रमित थपिएका छन् । डब्लूएचओका अनुसार,  पछिल्लो हप्तामा विश्वभर ७१ प्रतिशतले सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको र अमेरिकामा यो सङ्ख्या १०० प्रतिशत रहेको छ ।  गम्भीर बिरामीमध्ये ९० प्रतिशत खोप नलगाएका छन् ।

खोप लगाएका मानिसमा डेल्टाको तुलनामा ओमिक्रोन कम घातक रहेको पाइएको छ तर यसलाई 'माइल्ड' नै भनेर वर्गिकरण गर्न मिल्दैन, बिहीबार आयोजित पत्रकार सम्मेलनमा डा. टेड्रोसले भने, पहिलाका भेरियन्ट जस्तै ओमिक्रोनले मानिसलाई अस्पतालमा भर्ना गरिरहेको छ, ज्यान लिइरहेको छ ।

सङ्क्रमितको सुनामी यति ठूलो र तीव्र छ कि यसले विश्वभरकै स्वास्थ्य व्यवस्थालाई तहसन हस बनाउँदैछ । ओमिक्रोन निकै सङ्क्रामक रहेको छ र यसले खोप लगाएका मानिसलाई पनि सङ्क्रमित गर्न सक्छ । तर, खोपले गम्भीर बिरामी बनाउनबाट भने रोक्ने बताइएको छ ।

बिहीबार बेलायतमा १ लाख ७९ हजार ७५६ जना सङ्क्रमित थपिएका छन् भने २३१ जनाले ज्यान गुमाएका छन् । विश्वका अन्य देशहरूमा पनि कोरोना सङ्क्रमितको सङ्ख्यामा व्यापक वृद्धि भइरहेको छ । डेल्टाले आईसीयूमा दबाब बढेको थियो भने ओमिक्रोनले जनरल बेडहरूमा दबाब बढेको बताइएको छ । बीबीसी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार