काठमाडौँ, पुस । सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन सातवटै प्रदेशमा संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ ।
गठबन्धनमा आवद्ध दलका बीच राजनीतिक समन्वयका लागि गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बिहीबार बसेको बैठकले सातवटै प्रदेशमा राजनीतिक संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धनले सातवटै प्रदेशमा संयन्त्र निर्माण गर्ने र केन्द्रको समन्वय समितिले समेत राष्ट्रियसभामा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गर्ने निर्णय गरेको जानकारी दिए ।
‘राष्ट्रिय सभाको निर्वाचन छ, त्यसमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन बैठकले अपिल गरेको छ, साथै ती उम्मेदवारलाई विजयी गराउनका लागि सातवटै प्रदेशमा पाँचदलीय संयन्त्र बनाउने निर्णय भएको छ,’ मन्त्री कार्कीले सञ्चारकर्मीलाई बताएका छन ।
बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणका लागि सफलताको शुभकामना दिएको छ । देउवा आगामी आइतबार चार दिने भारत भ्रमणका लागि २५ सदस्यीय टोलीसहित जाँदैछन् ।
गठबन्धनभित्रै विवादका बीच गठन भएको उच्चस्तरीय राजनीतिक समन्वय समितिको संयोजकमा हाल कांग्रेस नेता रामचन्द्र पौडेल छन् । पौडेलले बुधबार साँझ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बालकोट पुगेर भेटेका थिए ।
बिहीबारको बैठकमा पौडेलले ओलीसँगको भेटवार्ताको विषय प्रस्तुत गरेका छन् । बैठकमा प्रतिनिधिसभाको अवरोध खुलाउनेसहित पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा भएको छ ।
बैठकमा संयोजक पौडेल, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित नेता सहभागी थिए