२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सर्लाही : 'बालबालिकाले खोप लगाउन पाएनन्'

सोमवार , पौष ५, २०७८


सर्लाही, पुस । सरकारले आइतबारबाट १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरे पनि सर्लाहीमा भने पालिकाहरूले बालबालिकाको विवरण नपठाउँदा खोप अभियान सुरु हुन सकेन । 
जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका खोप अधिकृत रामदुलार यादवले पालिकाहरूले आ–आफ्नो पालिकाभित्रका बालबालिकाको सङ्ख्या नपठाउँदा खोप कार्यक्रम सुरु गर्न नसकिएको बताएका छन । 
 जिल्लाका २० वटै पालिकालाई एक साताअघि नै पत्राचार गरिएको र बारम्बार फोन गर्दा समेत आइतबार बिहानसम्म पाँचवटा पालिकाले मात्रै विवरण उपलब्ध गराएको जानकारी दिएका छन ।  
उहाँका अनुसार बागमती नगरपालिका, कविलासी नगरपालिका, कौडेना गाउँपालिका, रामनगर गाउँपालिका र चक्रघट्टा गाउँपालिकाले मात्रै बालबालिकाको सङ्ख्या उपलब्ध गराएका छन् । बाँकी १५ वटा पालिकाले विवरण सङ्कलन भइरहेको बताएको खोप अधिकृत यादवले बताएका छन ।   
पालिकाहरूले बालबालिकाको विवरण नपठाउँदा जिल्लामा कति खोप मगाउने ? भन्ने बारेमा नै अन्योल रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले पुस ४ गतेदेखि १४ गतेसम्म बालबालिका लक्षित खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । 
जिल्लाको हरिपुर नगरपालिका स्वास्थ्य शाखाका संयोजक बिकाउ महतोले बालबालिकाको तथ्याङ्क सङ्कलन भइरहेकाले एक÷दुई दिनमै पठाइने बताएका छन ।  उनले विवरण पठाएर खोप आउनासाथ विद्यालयमै गएर बालबालिकालाई खोप लगाइने जानकारी दिएका छन ।  
यस्तै जिल्लाको ब्रह्मपुरी गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक उपेन्द्र राउतले गाउँपालिकाभित्रका चारवटा स्वास्थ्य चौकी र तीनवटा आधारभूत स्वास्थ्य केन्द्रमार्फत बालबालिकाको तथ्याङ्क लिने काम भइरहेको बताएका छन । प्रारम्भिक विवरणअनुसार जिल्लामा १२ देखि १७ वर्षसम्मका करिब एक लाख छ हजार बालबालिका रहेका र उनीहरू सबैलाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार