काठमाडौँ, मङ्सिर ।शहीद स्मारक डिभिजन लिग फुटबल प्रतियोगिताअन्र्गत आजदेखि सुरु भएको तेस्रो चरणको पहिलो खेलमा थ्रीटार क्लबले फ्रेन्ड्स क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा थ्रीस्टार र फ्रेन्ड्स क्लबको खेल १,१ गोलको बराबरीमा टुङ्गिएको हो ।
दुवै टोलीले एक एक अङ्क बाँडेका छन् । खेलमा पहिलो अग्रता भने फ्रेन्ड्स क्लबले लिएको थियो । खेलको ५१औँ मिनेटमा फ्रेन्ड्सका नाथनिल जुड ग्रासियाले एक गोल गरे । कप्तान प्रकाश बुढाथोकीको क्रसमा फ्रेन्ड्सका ग्रासियाले हेडमार्फत गोल गर्दै फ्रेन्ड्सलाई पहिलो अग्रता दिलाएका हुन । त्यस्तै थ्रीस्टारका लागि भने मिक्छेन तामाङले गोल गरे । उनले खेलको ८३औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई १,१ को बराबरीमा ल्याए ।
यस बराबरी खेलसँगै थ्रीस्टारले तीन खेलबाट चार अङ्क जोडेको छ । समान खेल खेलको फ्रेन्ड्सको भने दुई अङ्क छ । यसअघि पहिलो खेलमा थ्रीस्टारले च्यासल युथ क्लबलाई ३,० गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा सातदोबाटोसँग १,० गोअन्तरले पराजित भएको थियो । त्यस्तै फ्रेन्ड्स क्लबले पहिलो खेलमा सातदोबाटोसँग गोलरहित बराबरी खेलको थियो भने दोस्रो खेलमा सङ्कटा क्लबसँग २,१ गोलअन्तरले पराजित भएको थियो ।