चितवन, कात्तिक । नेपालमा मधुमेहका कारण दैनिक सरदर २८ जनाको मृत्यु हुने गरेको चिकित्सकले बताएका छन् । आइतबार भरतपुर अस्पतालमा आयोजित मधुमेहसम्बन्धी सचतेना कार्यक्रममा चिकित्सकले यस्तो जानकारी गराएका हुन् ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले नेपालमा बर्सेनि १० हजार जनाले मधुमेहका कारण ज्यान गुमाउने गरेको बताएका छन ।
विश्वको सात अर्ब जनसङ्ख्यामा ४५ करोड मधुमेहका बिरामी छन् । थप ४५ करोडलाई आफूलाई मधुमेह लागेको थाहा नै छैन, अधिकारीले भने, नेपालमा सात जनामा एक जना मधुमेहका रोगी छन् ।
दक्षिण एसियामा मधुमेहका बिरामीको सङ्ख्या र जोखिम बढिरहेको उनले बताएका छन । चीनमा ११ करोड, भारतमा सात करोड जनसङ्ख्यामा मधुमेह छ । नेपाल पनि मधुमेहको उच्च जोखिममा छ, उनले भने ।
सो अवसरमा बोल्दै अस्पतालका मेडिकल विभाग प्रमुख डा. प्रकाश खतिवडाले चितवन बसाइँसराइको ‘हब’ भएकाले मधुमेहका बिरामी पनि अरू जिल्लामा भन्दा बढी भएको बताएका छन । एसियामा मधुमेहको ‘राजधानी’ भारत भएको भन्दै यसको सीधा असर नेपालमा परेको उनको भनाइ छ ।