२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

स्वास्थ्य मन्त्रालयले भन्याे

फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत : " ढुक्क भएर लगाउनुस् "

शुक्रवार , कार्तिक २६, २०७८

काठमाडौं, कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप फाइजरको प्रभावकारिता ९५ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरेको छ ।

स्वास्थ्य सेवा विभागले आज यहाँ आयोजना गरेको फाइजर खोपको अभियानबारे जानकारी गराउँदै मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएकाले खोप लगाउन आग्रह गर्नुभयो ।

फाइजर खोपको अभियान यही कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म पहिलो मात्रा र दोस्रो मात्रा मङ्सिर २७ देखि पुस २ गतेसम्म सञ्चालन हुँदै छ । खोप १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई देशभरिका २४ वटा अस्पतालबाट प्रदान गरिनेछ ।

विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले दीर्घ रोगीलाई खोप लगाइसकेपछि बालबालिका लगाइने जानकारी दिनुभयो । उहाँका अनुसार बालबालिका लागि फाइजर खोप लगाउनका लागि ६० लाख मात्रा खरिद गरिने छ । उहाँले पुसमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका लागि फाइजर खोप प्रदान गरिने बताउनुभयो ।

नेपाललाई अमेरिकाले एक लाख ६२० मात्रा फाइरज खोप उपलब्ध गराएको थियो । बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले अन्य खोपभन्दा फाइजर खोप फरक रहेको बताउनुभयो ।

फाइजर खोप बाक्लो झोलको रूपमा हुने र खोप लगाउनुभन्दा पहिला घोल्नु पर्दछ । फाइजर खोप नेपालसहित १३२ देशमा प्रयोग गरिएको छ । उहाँले १३२ देशले कोरोना विरुद्धको खोपमा फाइजर लगाएकाले सुरक्षित र प्रभावकारी देखिएको बताउनुभयो ।

उहाँका अनुसार खोप लगाउँदा सुरुसुरुमा ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, जोर्नी दुख्ने, खान मन नलाग्ने, थकाई लाग्ने, वाकवाकीजस्ता समस्या देखिए पनि दुई तीन दिनमा सिटामोल खाएपछि सञ्चो हुनेछ । खोप लगाउन जाँदा दीर्घ रोगीले अस्पताल वा चिकित्सकले जारी गरेको दीर्घ रोगको उपचारसम्बन्धि पुर्जा लिएर जान भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार