२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

देउवा - मोदी भेटवार्ता : "सम्बन्ध बलियो बनाउने प्रतिबद्धता "

सम्मेलनमा सहभागी देउवा : "बैठकका अवसरमा क - कसलाई भेटे त ?"

अमेरिकी राष्ट्रपति बाइडेन, जर्मन चान्सलर मार्केल र बेलायती प्रधानमन्त्री जोन्सनसँग समेत भेट 

बुधवार , कार्तिक १७, २०७८

ग्लास्गो, स्कटल्यान्ड, कात्तिक ।  प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले दुई देशबीचको सम्बन्ध बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक ग्लास्गोमा भएको औपचारिक भेटवार्तामा दुवै प्रधानमन्त्रीले द्विपक्षीय सहयोगका विषयमा समेत छलफल गरेका थिए ।

प्रधानमन्त्री देउवाले मोदीसँगको भेट गम्भीर र सुमधुर भएको संक्षिप्त प्रतिक्रिया दिए । ‘मैले उहाँलाई नेपाल भ्रमणको निम्तो दिएँ, उहाँले पनि भारत भ्रमणको निम्तो दिनुभयो,’ उनले भने, ‘द्विपक्षीय भ्रमणबारे काठमाडौं पुगेपछि मितिको टुंगो गरिनेछ ।’

जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलन (कोप–२६) को उच्चस्तरीय सत्र (विश्व लिडर्स सम्मेलन) मा भाग लिन आइतबार साँझ ग्लास्गो आएका प्रधानमन्त्री देउवा र मोदीले त्यही दिन अनौपचारिक भेटवार्ता गरे पनि मंगलबार बिहान द्विपक्षीय औपचारिक भेटवार्ता भएको हो ।
लिम्पियाधुरा, लिपुलेक, कालापानीको सीमा विवादका नेपाल र भारतका बीचमा सम्बन्ध सुधार हुन नसकिरहेको बेला देउवा र मोदीबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

नेपाल र भारतबीच पछिल्लो समय सीमा, दार्चुलाको तुइन घटनालगायतका विषय उठेका छन् तर मंगलबारको भेटवार्तामा ती विषयमा कुराकानी भए/नभएको भन्नेबारेमा दुवै पक्षले खुलाएको छैन ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले ग्लास्गोस्थित कोप २६ आयोजना स्थल ‘स्कटिस एक्जिबिसन सेन्टर’ मा प्रधानमन्त्री देउवा र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको जानकारी दिए ।

‘उहाँहरूबीच द्विपक्षीय सम्बन्ध अघि बढाउने र सहयोग आदानप्रदानबारे छलफल भयो,’ उनले भने । भेटवार्ता करिब २० मिनेट भएको थियो । भेटवार्तामा नेपालका तर्फबाट वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र सचिव पौड्याल र अन्य पदाधिकारीको सहभागिता रहेको थियो । मोदीसँग भने विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसहितका पदाधिकारी थिए ।

चौथो पटक प्रधानमन्त्री भएपछि देउवाले २०७४ भदौमा भारत भ्रमण गर्दा मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यसपछि दुई नेताबीचमा भेटवार्ता भएको थिएन ।
देउवा पाँचौं पटक प्रधानमन्त्री भएको एक महिनापछि गत साउन ३ मा संसद्बाट विश्वासको मत लिएको दिन मोदीले फोन गरेर बधाई दिएका थिए । द्विपक्षीय भेटपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले ट्वीट गर्दै दुवै नेताहरूले नजिकको घनिष्ठ द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने जनाएको उल्लेख गरेका छन् ।

भेटवार्तामा व्यस्त देउवा

कोप–२६ को उच्चस्तरीय सत्रलाई सोमबार दिउँसो सम्बोधन गरेपछि देउवा औपचारिक–अनौपचारिक भेटमा व्यस्त छन् । उनी सोमबार साँझ कोप–२६ आयोजक मुलुक बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए । रात्रिभोजमा जोन्सनसहित अमेरिकी राष्ट्रपति जो बाइडेन, जर्मन चान्सलर एन्जेला मार्केललगायतका नेताहरूसँग देउवाले अनौपचारिक वार्ता गरेका थिए ।

एमसीसीकी डेपुटी सीईओ एलेक्सिया लाटोर्टे प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दै ।

प्रधानमन्त्री देउवाले सोमबार नै राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेससँग र भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि अनौपचारिक भेट गरेका थिए । त्यसक्रममा उनीहरूले कोप–२६ मा पर्वतीय र हिमालय क्षेत्रको मुद्दा र दिगो विकासलाई जोडदार रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

 श्रील‌ंकाली राष्ट्रपति गोटाभाया राजापाक्षसँग भेटवार्ता गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा ।

प्रधानमन्त्री देउवाले आफ्नो सम्बोधनमा पनि हिमालय क्षेत्रको बचाउ र तल्लो तटीय क्षेत्रको सुरक्षाका लागि विश्वको तापक्रम १.५ डिग्री सेल्सियसमा सीमित गर्नुपर्ने र त्यसका लागि विकसित मुलुकहरूले महत्त्वाकांक्षी योजना सार्वजनिक गर्नुपर्ने बताएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दै बेलायती रक्षामन्त्री बेन वालेस ।

देउवाले मंगोलियाका राष्ट्रपति उखना खुरेलसुख र श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षसँग पनि भेटवार्ता गरे । उनले मंगलबारै वन तथा भू–उपयोग व्यवस्थासम्बन्धी उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गरे । त्यसक्रममा उनले नेपालले स्वैच्छिक कार्बन बजार र उत्सर्जन घटाउने र द्रुत गति वन (एलईएएफ) उपकरणमा नेपालको चासो रहेको बताए ।

कान्तिपुर दैनिकको सहयोगमा  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार