सुर्खेत, कात्तिक । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन । उनले दिएसँगै कांग्रेस नेतृत्वमा सरकार बन्ने तयारी गरिएको छ । र, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन ।
मुख्यमन्त्री शाहीले गत वैशाख ३ गते विश्वासको मत लिँदा छ महिनापछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने सहमति गरेका थिए । त्यही सहमति अनुसार शाहीले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री शाहीले राजीनामा दिएपछि नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । ‘हामीबीच भएको भद्र सहमति अनुसार नै महेन्द्रजीले राजीनामा दिनुभएको हो, अब मेरै नेतृत्वमा नयाँ सरकार बन्छ,’ शाहीले सञ्चारकर्मीसँग भने ।
आफ्नो राजीनामाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महेन्द्रबहादुर शाहीले भने, नेपाली कांग्रेसलाई सरकार निर्माणका लागि मार्गप्रशस्त गरेको हुँ । नयाँ बन्ने सरकारलाई आफ्नो दलको पूर्ण सहयोग रहने उनको भनाइ छ ।
प्रदेश सभामा यस्तो छ अंक गणित
४० जना सांसद रहेको कर्णाली प्रदेशसभा हो । हाल प्रदेशसभा ३५ सदस्यीय छ । एमालेका चार सांसद कारवाहीमा परेपछि उनीहरुको पद रिक्त छ भने माओवादीका एक सांसद एमालेमा गएपछि सो पद पनि रिक्त छ ।
प्रदेश सभामा बहुमतका लागि १८ मत चाहिन्छ । माओवादीसँग १२ सिट छ भने कांग्रेससँग ६ सिट छ । यी दुई दल मिल्दा बहुमत पुग्छ । प्रदेशमा सत्ता साझेदार नेकपा (एकीकृत सामाजवादी) का पनि तीन जना सांसद छन् ।