२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रदेश २ : बेमौसमी वर्षाको प्रभाव, ४८ हजार हेक्टर धानबालीमा क्षति

बिहिवार , कार्तिक ११, २०७८


जनकपुरधाम, कात्तिक  । यस महिनाको सुरुमा आएको बेमौसम वर्षा र बाढीका कारण प्रदेश २ का आठ जिल्लामध्ये सबभन्दा बढी सप्तरीमा २५ प्रतिशत धानबालीमा क्षति भएको छ । प्रदेशभरि कूल ११ प्रतिशत धानबाली नष्ट भएको प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि शाखाले जनाएको छ । 
प्रदेश २ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी  तथा कृषि बाली अधिकृत मनिषकुमार पालका अनुसार कुल चारलाख तीन हजार १६४ हेक्टर क्षेत्रफल जग्गामा लगाएको धानबालीमध्ये ४८ हजार ६८४ हेक्टर क्षेत्रफल जग्गाकोे धानबाली प्रभावित भएको छ । धानबालीका साथै केरा, तरकारी, तोरी, मुसुरो बालीमासमेत क्षति भएको उनले  जानकारी दिएका छन । 
वर्षाले सबैभन्दा कम पर्सामा दुई प्रतिशत मात्र धानबाली प्रभावित भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । यस्तै सिरहामा १५, धनुषामा आठ, महोत्तरीमा सात, सर्लाहीमा १६, रौतहटमा आठ र बारामा नौ प्रतिशत धानबाली प्रभावित भएको छ ।
सप्तरीमा ६६ हजार १५० हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमध्ये १६ हजार ५३७ हेक्टर, सिरहामा ५८ हजार हेक्टरमध्ये आठ हजार ७०० हेक्टर, धनुषामा ५८ हजार ५०० हेक्टरमध्ये चार हजार ६८० हेक्टर, महोत्तरीमा ४५ हजार ५०० हेक्टरमध्ये तीन हजार ७८ हेक्टर, सर्लाहीमा ४३ हजार हेक्टरमध्ये सात हजार ४० हेक्टर, रौतहटमा ३८ हजार ७५० हेक्टरमध्ये तीन हजार १५५, बारामा ५८ हजार २१४ हेक्टरमध्ये चार हजार ९९४, पर्सामा ३५ हजार ५० हेक्टरमध्ये ५०० हेक्टर धानबाली प्रभावित भएको छ । 
गत कात्तिक १ र २ गते दुई दिन आएको बेमौसम अविरल वर्षाका कारण सप्तरीमा केरामा ९८०, तरकारीमा एक हजार ५५७, अन्यमा एक हजार १४, सिरहामा तरकारीमा दुई हजार तीनसय, बारामा तरकारीमा ३८९, तोरीमा ३५, र पर्सामा तरकारीमा १०, तोरीमा ४००, मुसुरोमा २०० हेक्टर क्षेत्रफलमा बाली क्षति भएको छ । 
जिल्ला कृषि ज्ञान केन्द्रमार्फत प्राप्त अनुमानित तथ्यांक उपलब्ध गराउन प्रदेशभरिका स्थानीय तलाई अनुरोध गरिएको सूचना अधिकारी पालले जानकारी दिएका छन ।  प्रदेशमा वासमती, कतरनी, सोना मंसुली, मंसुली, साइठीलगायत जातका धानमा वर्षाले क्षति पु¥याएको छ । 
बाला लागेको अग्लो जातका धानमा सबभन्दा बढी र होचो तथा पाकेर घर भित्र्याउन लागेको धानमा कम क्षति भएको छ । हावामा खेतमै ढलेको पाकेको धानमा अंकुरा आउन लागेको किसानहरुले बताइएको छ ।  
प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवले प्रदेश सरकारले किसानलाई राहत प्याकेज घोषणा गर्ने तयारी गरिसकेको बताए । प्रदेशभरिबाट क्षतिको सम्पूर्ण बिस्तृत विवरण संकलन भएर आइसकेपछि के कस्तो राहत दिन सकिने बारेमा निर्णय गरिने उहाँले बताउनुभयो । राहत प्याकेजको लागि संघीय सरकारसँग समन्वय भइरहेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार