हेटौंडा, कात्तिक । आज बागमती प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बन्दैछन् । नेता पाण्डेले आज शपथ लिएसँगै उनले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयार गरेका छन । अल्पमतमा परेर नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्री बन्न लागेका हुन् ।
नेता पाण्डेलाई कांग्रेस, माओवादी र जसपाका गरी ५९ सांसदको समर्थन छ । उनले हिजो, बुधबार नै मुख्यमन्त्रीमा दाबी पेस गरेका गरिसकेका छन । उनले आज दिउँसो सवा तीन बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम छ ।
आज बन्ने मन्त्रिपरिषदमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) संसदीय दलका उपनेताले मन्त्रालय सम्हाल्ने तयारी भएको नेपाली कांग्रेस संसदीय दलका सचेतक निमा लामाले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।
लामाका अनुसार, कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी केन्द्रकी उपनेता कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीका उपनेता कृष्ण खनाल मन्त्री बन्ने छन् ।
उनीहरुले कुन - कुन मन्त्रालय सम्हाल्ने भन्ने टुङ्गो लागेको छैन । तत्काल तीन मन्त्रीसहित मुख्यमन्त्री पाण्डे सरकारमा जाने र तिहारपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनको तयारी छ ।